जानीजानी आफूलाई कोरोना भाइरस सारेकी चेक गायिकाको मृत्यु

२०७८ माघ ६ बिहीबार १०:१६:०० मा प्रकाशित

जानीजानी आफूलाई कोरोनाभाइरस सारेकी चेक रिपब्लिककी एक लोक गायिकाको मृत्यु भएको छ । ५७ वर्षीया हाना होर्काले कोभिड–१९ विरुद्धको खोप लगाएकी थिइनन् ।

परीक्षणमा सङ्क्रमण पुष्टि भएपछि उनले सामाजिक सञ्जालमा आफू निको हुँदै गरेको लेखेकी थिइन् ।तर त्यसको दुई दिन पछि उनको मृत्यु भएको हो । उनका छोरा यान रेकले निश्चित स्थानमा प्रवेशका लागि हालै कोभिड भएर निको भएका मानिसलाई दिइने ‘रिकभरी पास’ पाउन उनी सङ्क्रमित भएको बताएका छन् ।

घरमा आफू र बुवालाई सङ्क्रमण भएको तर आमाले आफूहरूसँग दूरी कायम नगरी सँगै बसेको उनले जानकारी दिए । चेक रिपब्लिकमा बुधवार अहिलेसम्मकै धेरै कोभिड सङ्क्रमण पुष्टि भएको थियो ।

रेक र उनका बुवाले कोभिड–१९ विरुद्धको खोप लगाए पनि हाना होर्काले खोप लगाएकी थिइनन् । चेक रिपब्लिकमा सिनेमा, बार र क्याफेजस्ता निश्चित स्थानमा प्रवेशका लागि खोप लगाएको कार्ड वा हालै कोभिड सङ्क्रमण भएको प्रमाण पेस गर्नुपर्छ ।

हाना होर्का चेक रिपब्लिकको सबैभन्दा पुरानोमध्येको एउटा एसोनन्स समूहसँग आबद्ध थिइन्। छोरा रेकका अनुसार हाना होर्का हिँडडुलमा अवरोध कम होस् भनेर आफूलाई सङ्क्रमण सार्न चाहन्थिन् । आइतबार बिहान उनले आफूलाई सन्चो हुँदै गरेको भन्दै घुमेर आउन लुगा समेत लगाएकी थिइन्।

तर अचानक ढाड दुखेर समस्या आएपछि उनी ओछ्यानमा सुतिन् । उनका छोराले भने, ‘त्यसको १० मिनेटमै सबै सकियो। उनको श्वास अवरुद्ध भयो र मृत्यु भयो ।’

खोपबारे फैलिएका अफवाहमा विश्वास गरेका कारण आफ्नी आमाले खोप नलगाएको भन्ने कुरा सत्य नभएको रेकको भनाइ छ । खोपबारे कुरा गर्दा आमा अलि भावुक हुने गरेकाले उनीसँग धेरै कुरा गर्न नसकिएको रेक बताउँछन् । उनले अब आफूले भोगेको पीडा सुनाएर अरूलाई पनि खोप लगाउन प्रेरित गर्न सकिने विश्वास लिएका छन् ।

ताजा खबर