साइबर अपराध रोक्न प्रदेश सरकार क्रियाशीलः  सांसद थापा

२०७८ माघ ६ बिहीबार ०९:५४:०० मा प्रकाशित

भक्तपुर । वागमती प्रदेश सभा सांसद शशीजंग थापाले साइबर अपराध तथा लागू औषध दुव्र्यसन सम्बन्धी अपराध सीमाविहिन अपराधको रुपमा फैलिएको बताएका छन् । वागमती प्रदेश युवा परिषदको आयोजना तथा बाबा बचत तथा ऋण सहकारी संस्था, मध्यपुर थिमि महिला उपसमितिको सहकार्यमा बुधबार थिमिमा आयोजित कार्यक्रममा सांसद थापाले किशोर किशोरी तथा बयस्कहरु समेत साइबर अपराध र लागू औषध दुव्र्यसनको कुलतमा परेको उल्लेख गरे ।

उनले भने, ‘साइबर अपराध र लागू औषध दुव्र्यसनका कारण कुलतमा लागेका व्यक्ति र परिवार समेतको जीवन बर्बाद भएको छ ।’ नेपालमा बढ्दो साईबर अपराध र लागू औषध दुव्र्यसन नियन्त्रणका लागि प्रदेश सभामा पनि व्यापक रुपमा बहस हुने रहेको चर्चा गर्दै उनले विगतको सरकारले युवा तथा खेलकूद मन्त्रालय अन्तरगत युवा परिषद नै गठन गरेर युवाहरुको व्यक्तित्व विकास, रोजगारी सृजना लगायत अपराधिक गतिविधिबाट बच्ने बारे अभियान शुरु गरेको बताए । 

कार्यक्रममा बाबा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ज्ञानराम श्रेष्ठले सहकारीले युवा परिषदसँग सहकार्य गरेर युवालाई केन्द्रित गरी साईबर अपराध र लागू औषध दुव्र्यसन सम्बन्धी सचेतना कार्यक्रमबाट युवा तथा वयस्क समेत लाभान्वित हुने विश्वास व्यक्त गरे । । उनले हाम्रै घर र टोल छिमेकमा साईबर अपराध गर्ने युवाहरुको संख्या बढ्दै गएको र हात हातमा मोबाइलको प्रयोग सहज र सुविधा बढेसँगै नजानिँदो ढंगले अपराधीकरण पनि बढेको कारण यस्ता कार्यक्रमबाट अपराध न्यूनीकरणमा टेवा पुग्ने बताए । 

ताजा खबर