मधेस प्रदेश नामाकरणले मधेसीहरुको सपना एकहदसम्म पूराः मुख्यमन्त्री राउत

२०७८ माघ ५ बुधबार १९:२३:०० मा प्रकाशित

सप्तरी । प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउतले प्रदेशको नामाकरण मधेस प्रदेश आन्दोलनका शहिदहरु प्रतिको सच्चा श्रद्धाञ्जली रहेको बताएका छन् ।

मधेस आन्दोलनको प्रथम सहिद रमेश महतोले सहादत प्राप्त गरेको दिन अर्थात् बलिदानी दिवसको अवसरमा बुधबार मधेस  सरकार मातहतको मधेसी शहिद प्रतिष्ठानले राजविराजमा आयोजना गरेको सम्मान कार्यक्रममा मुख्यमन्त्री राउतले शहिदहरुले देखेको मधेस प्रदेशको सपना एकहदसम्म पूरा भएको बताएका हुन् ।

मधेस प्रदेश बनाउन सहयोग गरेका प्रदेश सभा सद्स्यहरुप्रति धन्यवाद ज्ञापन गर्दै मुख्यमन्त्री राउतले शहिदहरुको सपना पूरा गराउन आगामी दिनसमेत एकबद्ध रहने विश्वास व्यक्त गरे ।

उनले मधेश आन्दोलनका शहिद परिवार तथा घाइतेहरुको सम्मानमा मधेश सरकारले कुनै कमी नराख्ने प्रतिबद्धता जनाए । शहिद परिवारमध्ये अधिकांशलाई मधेस सरकारले रोजगारी उपलब्ध गराइसकेको उल्लेख गर्दै मुख्यमन्त्री राउतले अबको दिनमा मधेस सरकारले शहिद परिवार तथा अशक्त घाइतेहरुको लागि मासिक २१ हजार भरण पोषण भत्ता उपलब्ध गराउने तयारी समेत गरेको जानकारी दिए ।

कार्यक्रममा मधेस आन्दोलनका ५९ जना शहिद परिवारलाई जनही तीन लाख तथा ८८ जना घाइतेहरुलाई अवस्था हेरि २५ हजार देखि ३ लाख रुपैयाँसम्मको चेक एवँ सम्मान पत्रले सम्मानित गरिएको थियो

ताजा खबर