दुई मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु

२०७८ माघ ५ बुधबार १०:०३:०० मा प्रकाशित

झापा । झापाको कचनकवल–४ केचना बजारमा दुई वटा मोटरसाइकल आपसमा ठोक्किँदा एक भारतीय नागरिकको मृत्यु भएको छ भने तीन गम्भीर घाइते भएका छन् । भारतीय नम्बर प्लेट बिआर३७सी ९००८ र बिआर३७इ १९९४ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा भारतीय नागरिक सञ्जीव सिंहको मृत्यु भएको हो ।

घाइते सिंहको उपचारका क्रममा गएराति मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए । दुर्घटनामा कचनकवल–४ का ३० वर्षीय प्रदीप गणेश, भारतीय नागरिक हरण गणेश र एमडी ओकिल मियाँ गम्भीर घाइते भएका छन् ।

मोटरसाइकलका सवार सबैले मादक पदार्थ सेवन गरेको पाइएको प्रहरीले जनाएको छ । त्यसैगरी भद्रपुर–३ ज्ञानेचोकमा मे३प १५३४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । दुर्घटनामा कचनकवल–६ का अस्नव अन्सारी र भारतीय नागरिक नासुब खातुन घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

ताजा खबर