टोङ्गा ज्वालामुखी विस्फोटनबाट ठूलो क्षति

२०७८ माघ ४ मंगलबार ०९:१०:०० मा प्रकाशित

प्रशान्त महासागरमा ज्वालामुखी विस्फोटन भएपछि ठूलो क्षति भएको अनुमान गरिएको छ । शनिवार टोङ्गाको राजधानी नुकु’आलोफाबाट झण्डै ६५ किलोमिटर उत्तरतर्फ पानीमुनि विशाल ज्वालामुखी विस्फोटन भएको थियो । विष्फोटपछि त्यहाँ सञ्चार सम्पर्क टुटेको थियो जसले क्षतिको वास्तविक अवस्था अझै थाहा हुन सकेको छैन ।

ज्वालामुखी विस्फोटन हुँदाको कम्पन अमेरिकासम्मै सुनिएको थियो र त्यसले टोङ्गासम्मै एक मिटरभन्दा अग्ला छालहरू निम्त्याएको थियो । स्थानीय अधिकारीहरूले अहिलेसम्म कुनै मृत्यु पुष्टि गरेका छैनन् । तर एक जना ब्रिटिश महिलाका परिवारले आफ्नो कुकुरलाई जोगाउन खोज्दा उनको छालमा परेर मृत्यु भएको जनाएको छ ।

अस्ट्रेलिया र न्यूजील्यान्डले गरेका हवाई अनुगमनले त्यहाँ उल्लेख्य क्षति पुगेको विवरण दिएका छन् । रेडक्रसले त्यहाँ स्वच्छ पानीको आपूर्ति मुख्य प्राथमिकता रहेको जनाएको छ । तर उसले आफूले सुरुमा चिन्ता गरेजस्तो ठूलो क्षति नभएको पाएको जनाएको छ । रेडक्रसले ज्वालामुखी विस्फोटन भएपछि ८० हजार मानिस प्रभावित भएका हुनसक्ने बताएको छ ।

प्रशान्त क्षेत्रका टापुहरूलाई बाँकी विश्वसँग जोड्ने पानीमुनिका महत्वपूर्ण तारहरूमा क्षति पुगेपछि टोङ्गा सम्पर्कविहीन बनेको छ । फोन र इन्टरनेट लाइन स्थापित गर्न दुई सातासम्म लाग्न सक्ने जनाइएको छ । समुद्री सतहको होचो भूभागमा रहेका दुई टापुहरू फोनोई र मान्गोबाट आएका खबर सुखद नरहेको राष्ट्रसङ्घले जनाएको छ ।

आकाशमा रहेको धुवाँको मुस्लोले गर्दा सहायता संस्थाहरूका स्याटलाइट फोनले समेत राम्ररी काम नगरेको बताइएको छ । टोङ्गाको जनसङ्ख्या झन्डै एक लाख छ जहाँ १७० वटा टापुहरू सात लाख वर्ग किलोमिटरको क्षेत्रभित्र फैलिएका छन् ।

टोङ्गाको मौसम निकायले केही क्षेत्रमा सल्फर र एमोनियाको गन्ध आएको जानकारी आएको भन्दै चेतावनी जारी गरेको थियो । विस्फोटनपछि भूउपग्रहबाट प्राप्त तस्बिरमा परपर रहेका केही टापु पानीमा पूरै डुबेको सङ्केत देखिएको थियो।

ताजा खबर