एनआरएनएद्वारा सुदूरपश्चिम प्रदेशलाई ‘मोबाइल ब्लड बैंक बस’ प्रदान

२०७८ माघ ४ मंगलबार ०८:३१:०० मा प्रकाशित

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सुदूरपश्चिम प्रदेशलाई ‘मोबाइल ब्लड बैंक बस’ सहयोग गरेको छ । संघका अध्यक्ष कुमार पन्तले धनगढी उपमहानगरपालिकाका मेयर नृप ओडमार्फत कैलाली रेडक्रसका अध्यक्ष उत्तम जोशीलाई बस धनगढीमा आयोजित एक कार्यक्रमकाबीच सोमबार हस्तान्तरण गरेका हुन् ।

हस्तान्तरण कार्यक्रममा एनआरएनएका संरक्षक जीवा लामिछाने, उपाध्यक्ष डा बद्री केसी, महासचिव डा. हेमराज शर्मा, प्रवक्ता डिवी क्षेत्री, मानार्थ सदस्य धर्मराज अधिकारी, शनिकुमार ओली र सल्लाहकार कुल आचार्य, लगायत एनआरएन अभियन्ताहरु सहभागी थिए । विदेशस्थित गैरआवासीय नेपालीहरुको सहयोगमा खरिद गरिएको बसको कुल लागत ६० लाख रहेको संघले जनाएको छ ।

‘मोबाइल ब्लड बस’ परियोजनामा हालका सचिव गौरीराज जोशी संयोजक र आइसिसी पूर्व कोषाध्यक्ष हिक्मत थापा सहसंयोजक थिए । आधुनिक प्रविधिसहितको बसबाट लामो दुरीका रक्त संकलन स्थलमा गएर बस भित्रै रक्त दान गर्ने, संकलन गर्ने र सुरक्षित रुपमा ब्लड बैंकसम्म ल्याउन सक्ने सुविधा रहेको छ ।

एनआरएनएले नेपालमा मानव कल्याणकारी योजना अन्तर्गत पहिलो घुम्ती रगत बस भरतपुर महानगरपालिकामार्फत् चितवन रेडक्रसलाई हस्तान्तरण गरिसकेको छ भने आगामी दिनमा सबै प्रदेशमा पुर्याउने लक्ष्य राखेको बताएको छ।

ताजा खबर