प्रदेश दुईको स्थायी राजधानी जनकपुरधाम कायम

२०७८ माघ ३ सोमबार १५:४४:०० मा प्रकाशित

जनकपुरधाम । प्रदेश दुईको स्थायी राजधानी जनकपुरधाम कायम भएको छ । सोमबार प्रदेश सभामा भएको मतदानमा जनकपुरका पक्षमा दुई तिहाइ मत खसेको हो । प्रदेशको राजधानी जनकपुर तोक्ने प्रस्तावका सम्बन्धमा प्रदेशसभामा मतदान हुँदा ९९ सांसद सहभागी भएका थिए ।

जनकपुरधाम राजधानी राख्ने पक्षमा ७८ मत परेको थियो । यो प्रस्ताव अन्तर्गत प्रदेशको राजधानी धनुषाको उत्तरमा ढल्केवर पूर्वपश्चिम लोकमार्ग, पूर्वमा कमला नदी, दक्षिणमा नेपालको सीमाना र पश्चिममा मिथिला माध्यमिकी परिक्रमाभित्रको सम्पूर्ण भूभाग समेटिएको जनकपुरधाम रहने उल्लेख छ ।

त्यस्तै प्रदेश २ को नाम मधेश नामाकरण भएको छ । प्रदेशसभा बैठकले प्रदेशसभाको नाम मधेस प्रदेश राख्ने प्रस्ताव दुई तिहाई बहुमतका साथ पास गरेको हो । सोमबार बसेको दोस्रो बैठकमा भएको मतदानमा ९९ सांसद सहभागी भएका थिए, जसमध्ये ८० जनाले पक्षमा मत दिए ।

सरकारको नेतृत्व गरिरहेको जनता समाजवादी पार्टी (जसपा)सँगै सत्तारुढ माओवादी केन्द्र र विपक्षी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले संयुक्त रुपमा प्रदेशको नाम मधेश प्रस्ताव गरेका थिए ।

जसपाको ३९, माओवादीका ८ र लोसपाको १६ गरी ६३ जना सांसद थिए । १ सांसद रहेको नेपाल संघीय समाजवादी पार्टीले पनि यसमा समर्थन जनाएको थियो । तर अरु दलका १६ सांसदले पनि प्रदशेको नाम मधेश राख्ने प्रस्तावको पक्षमा मतदान गरेका छन् ।

ताजा खबर