हामीले जिम्मा नपाउँदा टेकोमा अडिएका भौतिक संरचना व्यवस्थापन गर्न सकेनौँ : मेयर शाक्य

२०७८ माघ २ आइतबार ११:४३:०० मा प्रकाशित

काठमाडौं । १९९० माघ २ गते र त्यसपछिको भूकम्पमा परेर दिवंगतहरुको स्मृतिमा आइतबार बिहान भूगोल पार्कमा स्मृति सभा आयोजना गरियो । कोभिड संक्रमण बढिरहेको सन्दर्भलाई मध्यनजर गर्दै सभामा २५ जना विशिष्ट व्यक्तित्वलाई आमन्त्रण गरिएको थियो । यसैअनुसार बस्ने कुर्सीको प्रबन्ध गरिएको थियो ।

सभामा महानगरका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडयाल, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरु, महानगरको कार्यपालिका सदस्यसहित अधिकारी सहभागी थिए । सभालाई सम्बोधन गर्दै गृहमन्त्री बालकृष्ण खाँणले, विपद क्षति व्यवस्थापनका लागि संघ, प्रदेश र स्थानीय सरकार आफैँमा सशक्त, अन्तर सरकार र आन्तरिक समन्वयमा बलियो बनाउँदै लानुपर्ने बताए ।

‘नागरिक सचेतना र विपद व्यवस्थापन गर्ने कानुनी प्रबन्धबाट सम्भावित क्षति कम गराउन सकिन्छ । प्रकृति र प्राकृतिक संरचनामा मान्छेले दख्खल दिइरहेका छन् । त्यसैकारण कहिलेकाहीँ अप्रत्यासित जोखिम व्यहोर्नु पर्ने अवस्था छ ।’ मन्त्री खाँणले भने ।

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सम्भावित विपत पूर्वतयारीका लागि काठमाडौँ महानगरपालिकाले भवन निर्माण मापदण्ड कार्यान्वयनलाई कडाइ गरिएको बताए ।

भूकम्पले भौतिक संरचनामा पुर्याएको क्षति व्यवस्थापन गर्न महानगरले पूर्ण क्षमतामा काम गर्न नपाएको सन्दर्भ उठाउँदै मेयर शाक्यले भने, ‘काठमाडौँमा अझै पनि टेकाका भरमा सांस्कृतिक संरचना अडिएका छन् । यी संरचना पुरातत्व विभाग र गुठी संस्थानको स्वामित्वमा छन् । महानगरको स्वामित्वमा भएका सबै भौतिक संरचना पुननिर्माण भएको वा निर्माणाधीन अवस्थामा छन् । टेको लगाएका भौतिक संरचना पुननिर्माण गर्न हामीलाई दिनोस्, हामीले अनुरोध गरेका हौँ । तर, जिम्मेवारी पाएनौँ ।’

स्मृति सभामा फायर हवल्दार बद्रीप्रसाद अधिकारी, नगर प्रहरी हवल्दार विशेश्वर पण्डित, सशस्त्र प्रहरी सहायक हवल्दार उत्तमहरि श्रेष्ठलाई नगद १५ हजारसहित सम्मान गरिएको थियो । १९९० साल माघ २ गतेको बिनाशकारी भूकम्पले पुर्याएको क्षति सम्झना गर्दै अबका पुस्ताले यस प्रकारको क्षति व्यहोर्नु नपरोस् भनेर सजग गराइराख्न यो दिवस मनाउने गरिएको छ ।


 

ताजा खबर