ब्राजिलमा ५ वर्षका बालबालिकालाई कोभिडविरुद्धको खोप लगाउन सुरू

२०७८ माघ १ शनिबार २०:४७:०० मा प्रकाशित

ब्राजिलले पाँचदेखि ११ वर्षका बालबालिकाका लागि खोप अभियान सुरु गरेको अधिकारीलाई उदृत गरी ब्राजिलियाली सञ्चारमाध्यम सिएनएन ब्रासिलले जनाएको छ । ब्रासिलका अनुसार यो उमेर समूहमा खोप लगाउने पहिलो आठ वर्षीय आदिवासी बालक रहेका छन् । उनलाई साओ पाउलो अस्पतालमा खोप लगाइएको हो ।

डिसेम्बर १६ मा, ब्राजिलको स्वास्थ्य नियामक एन्भिसाले पाँच देखि ११ वर्षका बालबालिकाहरूमा प्रयोग गर्नका लागि फाइजर–बायोएनटेकको कोभिड–१९ विरूद्धको खोपलाई अनुमोदन गरेको थियो । यो खोप बालबालिकाको लागि खोप लगाउन सुरक्षित रहेको बताइएपछि विभिन्न देशहरूमा उक्त उमेर समूहका बालबालिकालाई पनि खोप दिन थालिएको छ ।

नर्वेलगायतका कतिपय यूरोपेली मुलुकले पनि बालबालिकाका लागि यसको प्रयोग गर्न अनुमति दिइसकेका छन् । यद्यपि, बालबालिकालाई खोप लगाउनु आवश्यक नभएको भन्दै ब्राजिलका राष्ट्रपति जाइर बोल्सोनारोले आफ्नो ११ वर्षीया छोरीले बालबालिकाको लागि लगाइने भनिएको खोप नलगाउने बताएका छन् ।

ब्राजिलले सन् २०२१ को जनवरीमा खोप अभियान सुरु भएदेखि अहिलेसम्म ३२ करोड मात्रा खोपको व्यवस्था गरेको छ । यहाँ हाल लगभग १४करोड ३० लाख मानिसहरू अर्थात् ६८ प्रतिशत जनसंख्याले पूर्ण खोप लगाएका छन् ।

ताजा खबर