ए डिभिजन लिगमा आर्मीको तेस्रो जित

२०७८ माघ १ शनिबार १७:००:०० मा प्रकाशित

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा विभागीय टिम त्रिभुवन आर्मी फुटबल क्लवले तेस्रो जित निकालेको छ । जितसँगै आर्मी लिगको तेस्रो स्थानमा उक्लिएको छ । दशरथ रंगशालामा शबिार भएको खेलमा आर्मीले रेलिगेसनको संघारमा रहेको फ्रेन्ड्सलाई तीन एक गोलले हराएको हो । उसको जितमा जगजित श्रेष्ठको प्रदर्शन उत्कृष्ट रह्यो ।

खेलको १० औं मिनेटमा जर्जप्रिन्स कार्कीको पासमा जगजित श्रेष्ठले उत्कृष्ट गोल गर्दै टिमलाई अग्रता बनाए । उनले डिबक्स बाहिरबाट गरेको लेफ्ट फुटेड सट सोझै गोलमा परिणत हुँदा फ्रेन्ड्सका गोलकिपरले भेउ पाउन सकेनन् ।

१६ औं मिनेटमा आर्मीले अर्को राम्रो अवसर खेर फाल्यो । उसका लागि भरत खवासबाट आएको बलमा जर्जप्रिन्स कार्कीले मिलाएको बलमा जगजित श्रेष्ठको प्रहार पोष्टको नजिकैबाट बाहिरीयो । खेलको २५ औं मिनेटमा प्रिजेन तामाङले पाएको मौकामा असफल बन्दा फ्रेन्ड्स क्लवले खेल बराबरी गर्ने राम्रो मौका गुमायो ।

३० औं मिनेटमा फ्रेन्ड्सका जोमाउल फ्रान्सेसको लामो दुरीको प्रहार आर्मीका गोलकिपर विकेश कुथुले बचाए । ३४ औं मिनेटमा फ्रेन्ड्सले अर्को उत्कृष्ट मौका खेर फाल्यो । श्यामबाबुको क्रसमा सुरुवातमा जमोउल फ्रान्सेसको हेडर विकेश कुथुको घुँडामा लागेर फर्किँदा फेरि एन्थोनी पउलले गरेको प्रहारलाई विकेशले नै बचाए ।

खेलको ४५ औं मिनेटमा आर्मीले खेलमा दुई शून्यको अग्रता बनायो । उसका लागि जगजित श्रेष्ठको क्रसमा दिनेश हेम्जनले गोल गर्न सफल भए । पहिलो हाफको इन्जुरी समयमा आर्मीले अर्को राम्रो मौका पाएपनि फ्रेन्ड्सका गोलकिपर भाग्यमानी बने । पहिलो हाफमा दुई गोलले पछाडि रहेको फ्रेन्ड्सले ४७ औं मिनेटमा खेल दुई एकमा पुर्यायो ।

उसका लागि प्रिजेन तामाङको पासमा जमोउल एन्थोनीले गोल गर्न सफल भए । ५७ औं मिनेटमा फ्रेन्ड्सका दुई जना डिफेन्डरलाई विट गर्दै जर्जप्रिन्स कार्कीले गरेको प्रहार गोलकिपर राहुलले बचाए । ६३ औं मिनेटमा आर्मीले अर्को राम्रो अवसर खेर फाल्यो । टंक बस्नेतको क्रसमा जर्ज प्रिन्स कार्की र सुमन अर्यालले मौका गुमाए ।

त्यसको अर्को मिनेटमा जगजित श्रेष्ठले पाएको अर्को सुन्दर अवसरमा चुक्न पुगे । खेलको ७१ औं मिनेटमा आर्मीले खेलमा तीन एकको अग्रता बनायो । उसका लागि जगजित श्रेष्ठको क्रसमा सुमन अर्यालले हेडर गोल गर्न सफल भए । त्यसपछिपनि आर्मीले केहि अवसर सिर्जना गरेपनि गोल थप्ने सकेन । यो जितसँगै आर्मीले नौ खेलमा १७ अंक बनाउँदै लिगको तेस्रो स्थानमा उक्लिएको छ ।

ताजा खबर