कोरोना रोकथामसम्बन्धमा एमालेले प्रधानमन्त्रीलाई बुझायो ध्यानाकर्षण पत्र

२०७८ माघ १ शनिबार १२:२५:०० मा प्रकाशित

काठमाडौं । नेकपा एमालेले कोरोना नियन्त्रण, रोकथाम तथा उपचार सम्बन्धमा प्रधानमन्त्री शेरबहादुर देउवलाई विभिन्न सुझाव दिँदै ध्यानाकर्षण पत्र बुझाएको छ । शनिबार बिहान एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको नेतृत्वमा योगेश भट्टराई , खगराज अधिकारी , कृष्णगोपाल श्रेष्ठ, विशाल भट्टराई कृष्ण राईलगायतको टोलीले प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्र बुझाएको हो ।

ध्यानाकर्षण पत्रमा बिमितहरूको रकम उपलब्ध नभएको, टेस्टिङ्ग र ट्रेसिङ कार्यमा बृद्धि नभएको, औषधि, उपकरण, खोप र जनशक्तिको देशव्यापी उपलब्धताका लागि ठोस पहल नभएको, राजनीतिक दल तथा तीनै तहका सरकारका बीचमा प्रभावकारी समन्वय नभएको, कुटनीतिक पहल अत्यन्तै कमजोर रहेको उल्लेख छ । त्यस्तै कोभिडकोबारेमा अध्ययन र अनुसन्धानमा कुनै पहल नभएको उल्लेख गरिएको छ ।

ध्यानाकर्षणपत्र बुझ्दै प्रधानमन्त्री देउवाले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ नियन्त्रका लागि सबै एक जुट हुनेपर्ने बताए । प्रधानमन्त्रीले सबै मिलेर कोरोना तेस्रो लहरलाई परास्त गर्नुपर्ने बताए ।

प्रधानमन्त्रीलेले भने, ‘कोरोना नियन्त्रण र रोकथामका लागि तेरो पार्टी, मेरो पार्टी नभनी हामी सबै एक हुनुपर्छ।’ प्रधानमन्त्री देउवाले तेस्रो लहरसँगै आएको ओमिक्रोन भाइरस धेरै संक्रामक भएकाले सवधानी अपनाउन र सचेतना फैलाउन सरकारले पहल गरिरहेको पनि बताए । उनले आफूले सरकारको नेतृत्व गरेपछि कोभिड विरुद्धको खोप लगाउने संख्या बृद्धि भएको बताउँदै सबै खोप लगाउन योग्य नागरिकलाई दुवै डोज खोप लगाउनेगरी सरकार अघि बढेको पनि बताए।

ध्यानाकर्षणपत्रको पूर्णपाठ:

विषयः कोभिड–१९ को नियन्त्रण, रोकथाम तथा उपचार सम्बन्धमा
विश्वमा विभिन्न कालखण्डमा बिकराल सरुवा रोगले मानव समाजलाई प्रभावित पारेका इतिहास रहिआएको छ । त्यसको पछिल्लो परिघटना सन् २०१९ डिसेम्बरमा चीनको उहान प्रान्तबाट शुरु भएको कोभिड–१९ हाल विश्वभर महामारीका रुपमा फैलिरहेको छ । यसले यो शताब्दीकै उच्च महामारीको रुप लिई जनस्वास्थ्यमा गम्भीर असर परिरहेको छ ।

हाल विश्वमा कोभिड–१९ ले झन्डै ३१.५ करोड मानिसहरू संक्रमित भइसकेको, २६.२ करोड मानिसहरू रोगबाट निको भइसकेको, ४७ लाख मानिसहरू अझै संक्रमिक अवस्थामा रहेको, ५५.२ लाख मानिसहरूले मृत्युबरण गरिसकेको र रोगीहरूमध्ये पनि अझै ९६ हजार मानिसहरू जीवनमरणको दोसाँधमा बाँचिरहेका तथ्यांक छ ।

नेपाल पनि यस महामारीबाट अछुतो रहन सकेन । नेपालमा सन् २०२० अप्रिलमा पहिलोपटक कोभिड–१९ का संक्रमितको प्रवेश भयो । अन्य देशमा जस्तै यहाँ पनि दुई लहर आइसकेको र तेस्रो लहर सुरु भएको छ । नेपालमा हालसम्म नौ लाख चालीस हजार ५ सय ५२ व्यक्ति संक्रमित भइसकेका, आठ लाख पन्ध्र्र हजार ३ सय ४७ (९६.९%) निको भएका र ११ हजार ६ सय १० (१.४%) ले मृत्युबरण गरिसकेको अवस्था छ । (स्रोत : सीसीएमसी २०७८ पुस २९)

यस सन्दर्भमा हामी, हाम्रो पार्टी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको पूर्ववर्ती सरकारले कोभिड–१९ रोगथाम, नियन्त्रण र उपचारका लागि गरेका कामहरूलाई बुँदागत रुपमा स्मरण गराउन चाहन्छौं ।

१. ​रोगथाम, नियन्त्रण र उपचारलगायतका लागि स्टान्डर्ड गाइड लाईन तयार गरी लागू गरिएको ।

२. ​देशमा प्रयोगशालाको उपलब्धता नरहेको अवस्थाबाट रोगको पहिचानको लागि ८२ वटा पी.सी.आर. ल्याबको स्थापना गरी जाँचको दायरा फराकिलो बनाएको ।

३. ​उपचारको लागि समर्पित हस्पिटलको व्यवस्था मिलाएको । सरकारी तथा निजी क्षेत्रबाट सञ्चालित अस्पताल र मेडिकल कलेजका बीचमा समन्वयात्मक ढंगले काम गरेको ।

४.​व्यापकरुपमा कन्टयाक ट्रेसिङ्गको व्यवस्था मिलाएको ।

५.​सीसीएमसीको गठन गरी राज्यका सम्पूर्ण निकाय र तहका बीचमा एकीकृत र समन्वयात्मक ढंगले काम गरेको ।

६.​कोभिड–१९ बाट संक्रमितको उपचारका लागि बीमा व्यवस्था गरेको ।

७. ​अस्पतालहरूमा उपचारको लागि आवश्यक भौतिक पूर्वाधार, अक्सिजन, आईसीयू बेड र भेन्टीलेटरजस्ता उपकरणको व्यवस्था र त्यसका लागि पर्याप्त बजेट विनियोजन गरिएको ।

८. ​आवश्यकता अनुसारको बजेटको व्यवस्थापन गरेको ।

७. ​सबै तहका सरकारबीच समन्वय गरी सहकार्य तथा परिचालन गरेको र विशेषगरी स्थानीय तहलाई प्रभावकारी रुपमा परिचालन गरिएको ।

८. ​सबै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थासँग र मित्र राष्ट्रहरूसँग कुटनीतिक पहलमार्फत् औषधी, उपकरण र खोपको आपूर्ति व्यवस्था गरिएको ।

९. ​अत्यन्त कठीन अवस्थामा पनि दक्षिण एशियामा भारतपछि पहिलो मुलुकको रुपमा खोपको सुरुवात गरी निरन्तरताको लागि सुनिश्चिताताको व्यवस्था मिलाएको ।

१०. ​खोप भण्डारणको व्यवस्था नभएकोले सो सम्बन्धी कार्य प्रारम्भ भएको ।

११. ​जनशक्ति व्यवस्थापन, उत्पादन तथा प्रेरणा जागृत गर्नुका साथै प्रोत्साहन भत्ताको व्यवस्था गरिएको ।

१२. ​अनुगमन र मूल्यांकन समितिमार्फत् आएका सुझावहरूलाई कार्यान्वयन गरिएको । विज्ञ तथा सरोकारवालासँग नियमित छलफलमार्फत् पृष्ठपोषण प्राप्त गरेको । बेलाबेलामा सर्वदलीय बैठक आयोजना गरिएको ।

१३. ​प्रधानमन्त्रीको नेतृत्वमा केन्द्रीय कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र, जिल्लास्तरीय समिति र स्थानीय निकायमा एक समिति गठन गरी अधिकार प्रत्यायोजन गरिएको ।

१४. ​नेपाल–भारत सिमानामा अस्थायी होल्डिंग सेन्टरको स्थापना तथा व्यवस्थापन र ७ वटा स्थायी सेन्टरको व्यवस्थापनको योजना कार्यन्वयनमा लगेको ।

१५. ​सबै प्रकारको स्वास्थ्य प्रणालीको अधिकतम प्रयोगको व्यवस्था मिलाइएको ।

१६.​कोरोनाका कारण प्रभावित बनेको व्यवसायिक क्षेत्रलाई पुनः स्थापना गर्ने विभिन्न प्याकेजहरू कार्यान्व्यनमा ल्याएको । रोजगारीका वैकल्पिक उपायका लागि पहल गरिएको ।

अघिल्लो सरकारले रोकथाम, नियन्त्रण र उपचारका लागि पर्याप्त आधार तयार गरिसकेको अवस्थामा पनि हाल निम्न विषयमा कमजोरी देखिन्छ ।

१. ​प्रधानमन्त्रीज्यूले व्यक्त गर्नुभएको खोप, खोप र खोप प्रतिबद्धताअनुसार खोप लगाउन नसकिएको ।

२. ​खोपको प्रर्याप्तता हुँदाहुँदै पनि जनताले प्रयोग गर्न नपाएको । पहिले र दोस्रो खोप लगाएकाहरूलाई अबिलम्ब बुस्टर खोप उपलब्ध गराउनपर्ने काम हुन नसकेको ।

३. ​जनशक्तिलाई प्रेरणा हुने खालका कार्यक्रमहरू संचालन हुन नसकेको ।

४. ​सबै पालिकामा जनस्वास्थ्य निरीक्षकको व्यवस्था नभएको ।

५. ​नेपाल–भारत सिमाना र अन्तर्राष्ट्रिय विमानस्थलमा टेस्टिङ र होल्डिंग सेन्टरको व्यवस्था नभएको ।

६. ​बिमितहरूको रकम उपलब्ध नभएको ।

७. ​टेस्टिङ्ग र ट्रेसिंग कार्यमा बृद्धि नभएको ।

८.​औषधी, उपकरण, खोप र जनशक्तिको देशव्यापी उपलब्धताका लागि ठोस पहल नभएको ।

९.​राजनीतिक दल तथा तीनै तहका सरकारका बीचमा प्रभावकारी समन्वय नभएको ।

१०.​कुटनीतिक पहल अत्यन्तै कमजोर रहेको ।

११.​अध्ययन र अनुसन्धानमा कुनै पहल नभएको ।

अहिलेको विषम परिस्थितिमा कोभिड–१९ बाट नेपाली जनतालाई बचाउन, नागरिकको स्वास्थ्य अधिकारलाई सुनिश्चित गर्न, दैनिक जनजीवनलाई सुचारु गर्न निम्न कार्यहरूलाई उच्च प्राथमिकताका साथ अघि बढाउन हाम्रो पार्टी यहाँको गम्भीर ध्यानाकर्षण गर्दछ ।

१. ​जनस्वास्थ्यको मापदण्डलाई लागू गर्न व्यापक जनचेतना र प्रचार अभियान संचालन गर्ने ।

२. ​खोपकेन्द्रको संख्या बृद्धि गरी सबै उमेर समूहका नागरिकहरूलाई तत्काल खोप उपलब्ध गराउने । राज्यका निकाय र कुटनीतिक क्षेत्रको सक्रियता बढाउने र खोपको आपूर्ति तथा प्रयोगको प्रबन्ध मिलाउने र पर्याप्त भण्डार केन्द्र स्थापना गर्ने ।

३ . ​तीनै तहका सरकारको समन्वयमा कोभिड–१९ बिपत व्यवस्थापन कार्य संचालन गरी सीमा क्षेत्रमा जाँच र होल्डिंग सेन्टरको तुरुन्त व्यवस्थापन गरी संचालन गर्नुपर्ने ।

४. ​थप स्वास्थ्य जनशक्ति परिचालन गरी उनीहरूलाई प्रोत्साहन प्याकेजको व्यवस्था गर्ने । साथै अग्रभागमा क्रियाशील जनशक्ति तथा स्वयंसेवकका लागि प्रोत्साहन प्याकेजको व्यवस्था गर्ने ।

५. ​स्थानीय तह र स्थानीय स्वास्थ्य इकाइसम्म स्रोतसाधन र जनशक्ति पर्याप्त मात्रामा उपलब्ध गराउने ।

६. ​राज्यको सबै संयन्त्र तथा राजनीतिक दलका बीचमा समन्वयात्मक परिचालन गर्नुपर्ने ।

७. ​समर्पित अस्पतालको व्यवस्था गर्नुपर्ने । सरकारी तथा निजी अस्पताल र मेडिकल कलेजको समन्वयात्मक परिचालन गर्नुपर्ने ।

८. ​पालिकास्तरमा जनस्वास्थ्य निरीक्षकको नेतृत्वमा टे«सिङ, टेस्टिङ, उपचार र खोपका लागि घुम्ती टोली परिचालन गर्नुपर्ने ।

९.​बालबालिका, गर्भवती महिला, बृद्धबृद्ध, अपाङ्ग र अशक्तहरूलाई विशेष व्यवस्था गर्नुपर्ने र यी समूहका व्यक्तिहरूलाई घर–घरमा खोप सेवा संचालन गर्ने ।

१०. ​आवश्यकताअनुसार पुनः स्थापना केन्द्र संचालन गर्नुपर्ने ।

११. ​औषधी, खाद्यान्नलगायत अति आवश्यक वस्तुको सहज आपूर्ति र भण्डारणको व्यवस्था गर्ने ।

१२. ​पर्यटकीय क्षेत्र, शैक्षिक केन्द्र, व्यापार व्यवसाय स्थल, धार्मिक, साँस्कृतिक स्थललगायत मानिसहरूको बढी चहलपहल हुने स्थानमा खोप उपलब्धता बढाउने र ती स्थानमा पनि खोप केन्द्र सञ्चालनमा ल्याउने ।

१३. ​अस्पतालको स्तर बृद्धि गरी थप सेवा संचालन गर्नुपर्ने ।

१४.​​सम्पूर्ण संक्रमित बिरामीको लागि निःशुल्क स्वास्थ्य सेवा संचालन गर्नुपर्ने ।

१५. ​​बुस्टर डोजको व्यवस्था तत्काल मिलाउने ।

१६.​निरोधात्मक स्वास्थ्यका लागि खानपिन तथा व्यायाम र जीवनयापनसम्बन्धी जनचेतना जागृत गर्ने ।

१७. ​राज्यका विभिन्न निकाय, स्वदेशी तथा विदेशी विश्वविद्यालय तथा अनुसन्धान केन्द्रसँग समन्वय र साझेदारीमा कोभिड–१९ सम्बन्धी अनुसन्धानात्मक कार्यक्रम अघि बढाउने ।

१८. ​कोभिडबाट मृत्यु भएकाले आश्रित परिवार (गर्भवती महिला, बालबालिका, बृद्धबृद्धा, अपाङ्ग र अशक्त) लाई पुनस्र्थापनाको व्यवस्था गर्ने ।
१९. ​​स्थानीय तहलाई विशेष जिम्मेवार बनाई साधन स्रोत र जनशक्ति उपलब्ध गराउने ।

२०.​दीर्घरोग, अत्यावश्यक स्वास्थ्य तथा नियमित स्वास्थ्य सेवा सुचारू राख्ने ।

२१.​अर्थतन्त्रमार्फत् विभिन्न क्षेत्रमा पर्ने नकारात्मक प्रभावलाई कम गर्न विशेष आर्थिक योजना कार्यान्वयन गर्ने । वैकल्पिक रोजगारीको प्रबन्ध मिलाउने ।

२२.​विदेशमा कार्यरत नेपालीहरूको स्वास्थ्य सुरक्षाका लागि सम्बन्धित मुलुकहरूसँग पहलकदमी लिने ।

नेकपा (एमाले) ले सबैभन्दा ठूलो, जिम्मेवार र प्रमुख प्रतिपक्ष पार्टीका हैसियतले जनताको स्वास्थ्यलाई जहिले पनि उच्च प्राथमिकतामा राख्दै आएको छ । सरकारमा रहँदा वा नरहँदा ‘राष्ट्र र जनता पहिले’ भन्ने हाम्रो पार्टीको दृष्टिकोणमा कुनै परिवर्तन आउने छैन । स्वस्थ नागरिक, स्वस्थ समाज र सबल राष्ट्रमार्फत् ‘समृद्ध नेपाल ः सुखी नेपाली’को राष्ट्रिय आकाँक्षा हासिल गर्न हाम्रो पार्टी सदैव प्रतिबद्ध छ ।
कोभिड–१९ को नियन्त्रण, रोकथाम र उपचारका लागि प्रभावकारी कदम चाल्न नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गर्दछौं । यस कार्यमा सरकारले आवश्यक ठानेको सहयोग र समन्वयका लागि हाम्रो पार्टी तयार रहेको यहाँलाई जानकारी गराउँदछौं ।
धन्यवाद !
योगेश भट्टराई
प्रमुख
स्वास्थ्य तथा जनसंख्या विभाग

ताजा खबर