माघ तेस्रो/चौथो हप्तादेखि आमनागरिकलाई बुस्टर डोज दिन्छौंः स्वास्थ्यमन्त्री

२०७८ पौष २९ बिहीबार १५:२१:०० मा प्रकाशित

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले सरकार लकडाउन गर्ने पक्षमा नरहेको बताएका छन् । बिहीवार कीर्तिपुर अस्पतालमा आयोजित कार्यक्रममा स्वास्थ्य मन्त्री खतिवडाले यसअघि अन्य देशहरुको कुरा सुनेर लकडाउन गरेपनि अब आवश्यक ठाउँ हेरेर मात्रै लकडाउन गरिने बताएका हुन् ।

उनले यसअघिका लकडाउनले देशको आर्थिक, सामाजिक र शैक्षिक क्षेत्रमा धेरै असर गरेको भन्दै अब लकडाउन नै समाधान हो भन्ने किसिमबाट सरकार नजाने बताए । उनले सरकार स्वास्थ्य क्षेत्रमा विशेष तयारीका साथ काम गरिरहेकोले लकडाउन हुन्छ भनेर आत्तिनु नपर्ने बताए ।

उनले भने,‘ अब हामी आत्तिएर, मात्तिएर लकडाउन नै समाधान हो भन्ने पक्षमा छैनौँ । आवश्यकता हेरेर खास ठाउँमा त्यो विचार पुर्याएर मात्रै गर्नेछौँ । सजिलैसँग लकडाउनमा जाँदैनौँ । आवश्यक्ताअनुसार ठाउँ विशेष गर्न सक्छौँ । त्यसैले तत्काल लकडाउनको विषयमा आतंकित हुनु पर्दैन । रोगव्याधको विषयमा पनि हामीले सकेसम्म नलागोस् लागे पनि हामीले सबै ठाउँमा आइसोलेशन वार्डहरु, आईसीयू, अक्सिजन, पहिलो भेरियन्टको बेला भन्दा दुई तीन गुणामाथि उपकरणको व्यवस्था गरेका छौं।’

उनले आमनागरिकलाई कोरोनाको तेस्रो भेरियन्टबाट बच्न मास्क र स्यानिटाइजर अनिवार्य प्रयोग गर्न आग्रह गरे । उनले कोभिडविरुद्धको खोप लगाएर सुरक्षित बस्न पनि आग्रह गरे ।

विज्ञहरुले बुस्टर डोज लगाएपछि तेस्रो भेरियन्टबाट बच्न सहज हुने बताएकाले आउँदो माघ पहिलो हप्ताबाट अग्रपंक्तिमा रहेर काम गर्नेहरुलाई बुस्टर डोजको व्यवस्था गरिएको जानकारी दिए । उनले माघको दोस्रो हप्तामा ६० वर्ष माथिको उमेर समूहका नागरिक र तेस्रो वा चौथो हप्ताबाट आम नागरिकहरुलाई कोरोना बिरुद्धको बुस्टर डोज उपलब्ध गराउने बताए ।

ताजा खबर