निर्वाचनको म्यान्डेटअनुसार महाधिवेशनमा देउवालाई सघाएको होः नेता सिंह

२०७८ पौष २९ बिहीबार १४:४७:०० मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले १४ औँ महाधिवेशनको पहिलो चरणको निर्वाचनको म्यान्डेटअनुसार प्रधानमन्त्री शेरबहादुर देउवालाई सभापतिमा सघाएको बताएका छन् ।

कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर २ भक्तपुरले बिहीबार आयोजना गरेको झण्डोत्तलन कार्यक्रममा सिंहले पहिलो चरणको निर्वाचनको म्यान्डेटअनुसार प्रधानमन्त्री र देउवालाई सभापतिमा सघाएको बताएका हुन् ।

नेता सिंहले केन्द्रीय नेतृत्व परिवर्तन र पार्टी विधिसम्मत संस्थागत हुनुपर्ने एजेण्डा बोकेर महाधिवेशनमा मत मागेको स्मरण गर्दै मतदाताले आफूले अघि सारेका एजेण्डाअनुसार मत नदिएको गुनासो गरे ।

पहिलो चरणको निर्वाचनमा आफूले परिवर्तन हुनुपर्छ भनिएको नेतृत्वले नै सबैभन्दा बढी मत पाएपछि मतदाताको म्यान्डेटअनुसार प्रधानमन्त्री देउवालाई सहयोग गरेको उनको भनाइ थियो।

‘दुईटा एजेण्डा बोकेर म यस पटक उठेको हुँ । एउटा केन्द्रीय नेतृत्व परिवर्तन हुनुपर्छ। दोस्रो पार्टी विधिसम्मत संस्थागत हुनुपर्यो । त्यो एजेण्डामा भोट मागेको हुँ,’ सिंहले भने, ‘फस्र्ट राउन्डको म्यान्डेटले मैले परिवर्तन गर्नुपर्छ भनेकै नेतृत्वको पक्षमा देखियो। डेमोक्रेटिक पार्टीमा डमोक्रेटिक एक्सरसाइजमा सहभागी भइसकेपछि म्यान्डेट त मान्नुपर्यो नि।’ उनले पहिलो चरणको निर्वाचनको म्यान्डेट मान्दा धेरैको टाउको दुःखेको पनि टिप्पणी गरे। ‘मैले त्यो म्यान्डेट मान्यो भनेर कपाल दुखाई छ यहाँ,’ नेता सिंहले भने ।

उनले आफू गणेशमान पुत्र भएकै कारणमात्रै राजनीतिमा नआएको पनि प्रष्ट्याए । तल्लो तहदेखि नै आफू संघर्ष गरेर कांग्रेसको राजनीतिमा स्थापित हुँदै आएको सिंहको जिकिर थियो।

आफुले दोस्रो चरणमा सभापति मा शेरबहादुर देउवा लाई समर्थन गरेपछि ‘पाटी भित्र आफ्नो स्वार्थ पूरा नभएपछि एकथरिलिले नियोजित रुपमा आफूमाथि अनावश्यक प्रहार गरी चरित्र हत्या प्रयास भइरहेको बताए । ‘थाहा हुनुपर्यो, संगठन गर्दा सजिलो छ ? नेताको छोरा भनेर पैसा कमाउनसम्म कमाएर म फलानो भनेर उभिन आएको छौं हामीहरु ?,’ उनले प्रश्न गरे, ‘हामी ग्रासरुटदेखि नै जेल गएर आएको हो। पार्टीमा त्यसै लागेको हो? अर्काको मेहनतमा टुपुक्क नेता बन्न आएका हौं र हामीहरु ?’

 

ताजा खबर