रुसलाई कूटनीति वा मुठभेडमध्ये एउटा रोज्न अमेरिकी चेतावनी

२०७८ पौष २९ बिहीबार ०९:१४:०० मा प्रकाशित

अमेरिकी उपविदेशमन्त्री वेन्डी शरमनले रुसलाई पश्चिमसँग कूटनीति वा मुठभेडमध्ये एउटा रोज्न चेतावनी दिएकी छन् । उत्तर एट्लान्टिक सन्धी संगठन (नेटो)र रुसबीच भएको वार्तापछि बोल्दै उनले त्यस्तो चेतावनी दिएकी हुन् ।

युक्रेनको विषयलाई लिएर देखिएको तनाव घटाउने उद्देश्य सहित ब्रसल्समा नेटो–रुस काउन्सिलको वार्ता भएको थियो । सन् २०१९ यता उक्त काउन्सिलको यो पहिलो भेट भएको हो । रुसी उपविदेशमन्त्री अलेक्सान्डर ग्रुस्कोले नेटोले मस्कोको मागहरूबारे आफूलाई अनुकूल हुने मागमात्रै सम्बोधन गर्न नसक्ने बताए । रुसको मागको सूचीमा युक्रेन कहिल्यै नेटोमा सामेल हुनहुन्न भन्ने पनि रहेको छ ।

युक्रेनसँगको सीमा नजिकै दशौँ हजार रुसी फौज एकवद्ध भएका छन् र त्यसले आक्रमणको आशङ्का गराएको छ । नेटोमा आवद्ध हुने भन्ने लक्ष्य युक्रेनको संविधानको एउटा हिस्सा हो ।

तर उपविदेशमन्त्री शरमनले प्रगति गर्नसकिने क्षेत्रहरू रहेको बताइन् र रुसले अब के चाहन्छ भन्ने निर्णय गर्नुपर्ने बताइन् । उनले अमेरिका र नेटो सबै खालको सम्भावनाका लागि तयारी गरिरहेको बताइन् । शरमन आफ्ना समकक्षी सेर्गेइ रिब्कोफलाई राम्ररी चिन्छिन्। उनीहरूले यसअघि सिरिया र इरानी हतियार नियन्त्रणका मुद्दामा सँगै काम गरेका थिए ।

रुसले थुप्रै मागहरू जारी गरेको छ जसले नेटोलाई पूर्वतर्फ थप विस्तार गर्न रोक्ने उद्देश्य राखेको छ। आफ्नो सीमा नजिकै नेटोको उपस्थिति घटाउने उद्देश्य पनि रुसको रहेको छ ।

नेटोले भने ती मागहरू पूर्ण रुपमा अस्वीकार गरेको छ तर हतियार नियन्त्रण र सैन्य अभ्यास सीमित पार्नेजस्ता अन्य विषयमा भने वार्ता गर्न इच्छुक रहेको जनाएको छ । सन् १९४९ मा स्थापना भएको नेटो प्रतिरक्षाका लागि बनेको गठबन्धन हो र यसमा ३० राष्ट्र सदस्य छन्।

ताजा खबर