अब मेसिनबाट ट्राफिक जरिवाना तिर्न सकिने

२०७८ पौष २८ बुधबार १४:१९:०० मा प्रकाशित

काठमाडौं । महानगरीय ट्राफिक महाशाखाले ट्राफिक नियम उल्लंघन गरेबापत चालकहरुले तिर्नुपर्ने जरिवाना रकम प्रभु–पेको किअस्क मेसिनको प्रयोग गरि भुक्तानी गर्न सकिने व्यवस्थाको शुरुवात गरेको छ ।

महाशाखाले शुरुवाती चरणमा ट्राफिक नियम उल्लंघनकर्ताले जरिवाना तिर्न ग्लोबल आईएमई बैंकमा गई भौचरको आधारमा ट्राफिक जरिवाना तिर्ने गरेको थियो ।

पछिल्लो समय ट्राफिक प्रहरी सेवालाई प्रबिधिमैत्री बनाउदै विभिन्न ६४ वटा बैंकको मोबाइल बैंकिङ डिजिटल वालेटका १४ वटा जरिवाना भुक्तानी सेवा प्रदायक संस्थाहरु र क्यूआर पेमेन्टबाट समेत जरिवाना तिर्न सकिने प्रणाली संचालनमा छन् ।

बुधबार एक कार्यक्रमकाबीच ट्राफिक प्रहरी महाशाखाका प्रहरी बरिष्ठ उपरीक्षक उमेशराज जोशी र प्रभु–पेका अध्यक्ष कुसुम लामाले संयुक्त रुपमा नगद पैसा हालेर ट्राफिक जरिवाना तिर्न सकिने प्रविधि “प्रभु–पेको किअस्क मेसिन” उद्घाटन गरेका छन् ।

कार्यक्रममा एसएसपी जोशीले ट्राफिक सेवालाई थप प्रविधिमैत्री बनाउँदै आम सेवाग्राहीलाई ट्राफिक जरिवाना तिर्न सरल एव सहज होस् भन्ने उद्देश्यले यो मेसिनको जडान गरेको बताए । उनले किअस्क मेसिनमा सिधै नगद हालेर जरिवाना भुक्तानी गर्न सकिने र यसले बैंकमा गएर लामो समय लाईनमा बस्ने झन्झटबाट मुक्त हुने र समयको समेत वचत हुने बताए ।

हाल ट्राफिक महाशाखासहित उपत्यकामा ३०९ स्थानमा प्रभु–पेको किअस्क मेसिनबाट ट्राफिक जरिवाना तिर्न सकिने र थप सहकार्य गरि अन्य ट्राफिक प्रहरी कार्यालयहरुमा समेत जडान गर्दै जाने अध्यक्ष लामाले बताइन् ।

ताजा खबर