कोभिड सङ्क्रमण वृद्धि भएपनि पाकिस्तानले तत्काल विद्यालय बन्द नगर्ने

२०७८ पौष २७ मंगलबार २२:५२:०० मा प्रकाशित

पाकिस्तानमा कोभिड–१९ सङ्क्रमण दर उच्च देखिए पनि तत्काल विद्यालयहरू बन्द गर्ने सोचमा सरकार देखिएको छैन । तत्काल विद्यालयहरू बन्द नगर्ने सरकारी योजनाबारे मङ्गलबार सञ्चारमाध्यमले सूचना तथा प्रसारण मन्त्रालय स्रोतलाई उदृत गरी समाचार प्रकाशन र प्रसारण गरेका छन् ।

“संघीय सरकारलाई देशमा बढ्दो कोभिड–१९ सङ्क्रमणका घटनाको बारेमा जानकारी छ तर तत्काल पाकिस्तानमा पुनः लकडाउन वा विद्यालय बन्द गर्ने योजना बनाएको छैन,” मन्त्रीपरिषद् बैठक पश्चात पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै सूचना तथा प्रसारण मन्त्री फवाड चौधरीले भने ।

मुलुकमा कोभिड–१९ सङ्क्रमण दर दोब्बर भएको जानकारी संघीय मन्त्रालयलाई जानकारी रहेको तर विद्यालय बन्दको सम्भावना तत्कालका लागि नरहेको मन्त्री चौधरीले बताए ।

उनले भने, “उच्च सङ्क्रमण दरका बावजुद पनि हामीले पाकिस्तानमा लकडाउन वा विद्यालय बन्द गर्ने सोच बनाएका छैनौँ । अर्को लकडाउनको बोझ हाम्रो अर्थतन्त्रले बोक्न सक्दैन ।” देशले कोरोनाभाइरसको सामना गर्न सक्ने कुरामा जोड दिँदै चौधरीले सरकारले तालाबन्दी नलगाउने तर परिस्थितिको अनुगमन जारी राख्ने बताए ।

कोरोनाभाइरस फैलिन नदिन देशका जनतालाई मास्क प्रयोग गर्न पनि मन्त्रीले आग्रह गरे । चौधरीले पाकिस्तानले ‘उत्कृष्ट’ कोभिड–१९ खोप अभियान चलाइरहेको पनि बताए । संघीय सरकारले खोपमा दुई अर्ब अमेरिकी डलर लगानी गरेको छ ।

ताजा खबर