सचिवहरुलाई जसरी पनि पुँजीगत खर्चको गति बढाउन अर्थमन्त्रीको आग्रह

२०७८ पौष २७ मंगलबार १७:५७:०० मा प्रकाशित

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षको बाँकी ६ महिनामा शतप्रतिशत पुँजीगत खर्च गरिसक्न विभिन्न मन्त्रालयलाई आग्रह गरेका छन् । अर्थ मन्त्रालयमा मंगलबार आयोजित चालु आर्थिक वर्षको हालसम्मको खर्चको समीक्षा बैठकमा उनले सचिवहरूलाई यस्तो आग्रह गरेका हुन् ।

आवश्यक परेको समयमा आफू सधैँ सहयोग गर्न तयार रहेको उल्लेख गर्दै मन्त्री शर्माले जसरी पनि खर्च गर्न आग्रह गरे । “आर्थिक वर्षको ६ महिना बितिसक्यो । बाँकी ६ महिनामा शतप्रतिशत बजेट खर्च गर्नुपर्छ”, उनले भने । मन्त्री शर्माले बजेट खर्च गर्ने अन्य उपाय खोज्ने उल्लेख गर्दै उनले जसरी पनि खर्च बढाउन आग्रह गरे ।

ठूला योजनामा स्थानीय तह र स्थानीयवासीलाई समेत सहभागी गराएर अगाडि बढाउनुपर्नेमा उनले जोड दिए । ठूला योजनामा अपनत्वका लागि उनीहरूलाई सहभागी गराएर मात्र छिटो काम गर्न सकिने मन्त्री शर्माको भनाइ थियो ।

विद्यमान प्रणालीमा सुधार गर्नुपर्ने आवश्यकता उनले औँल्याए । फाइल हरेक मन्त्रालयमा बोकेर हिँड्दा ढिला हुने भन्दै मन्त्री शर्माले डिजिटल माध्यममा लैजानुपर्नेमा जोड दिए । “फाइल बोकेर विभाग, मन्त्रालय धाउँदा दुई/चार दिन जान्छ ।

यहाँ पनि समय गइरहेको छ”, उनले भने, “यसलाई डिजिटल माध्यममा लैजानुपर्यो । डिजिटलमै अनुरोध गर्ने र स्वीकृत गर्ने हुनुपर्यो ।” पछिल्लो समय पुँजीगत खर्च बढाउन अर्थ मन्त्रालयले अन्य मन्त्रालयलाई ताकेता गर्दै आएको छ । यसैबीच सोमबारसम्मको तथ्याङ्कअनुसार पुँजीगत खर्च ९.३९, चालु खर्च ३८.९ र वित्तीय खर्च २५.४१ प्रतिशत बराबर भएको छ । समग्रमा हालसम्ममा २९.११ प्रतिशत बजेट खर्च भइसकेको छ ।

ताजा खबर