नेप्सेमा उच्च अङ्कको वृद्धि

२०७८ पौष २७ मंगलबार १७:४४:०० मा प्रकाशित

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार पनि उच्च अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा ४९.१९ अङ्कले वृद्धि भई दुई हजार ८३४.१३ मा पुगेको छ ।

यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ६.३४ अङ्कले बढेर ५२८.८७ मा पुगेको छ । कारोबार भएकामध्ये आज १७० कम्पनीको शेयर उकालो लागेको छ भने १९ कम्पनीको शेयर ओरालो लाग्दा एक कम्पनीको शेयर मूल्यमा भने कुनै उतारचढाव आएन ।
कूल एक करोड १९ लाख ७० हजार २१५ कित्ता शेयर ६ अर्ब ७२ करोड ४५ लाख २६ हजार १९७ मूल्यमा खरिद बिक्री भए ।

मङ्गलबारको कारोबारपछि बजार पूँजीकरण ४० खर्ब तीन अर्ब ७६ करोड ५८ लाख ४२ हजार २७ बराबर पुगेको छ । नेप्सेका अनुसार कारोबारका आधारमा आज पनि अपि पावर कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको १६ करोड ८३ लाख २२ हजार ६९५ बराबरको कारोबार भयो ।

यस्तै, गुर्खाज फाइनान्स १६ करोड २६ करोड ७२ लाख ६२४, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी १५ करोड ६४ लाख तीन हजार ७७९, नेपाल दूरसञ्चार कम्पनी १३ करोड ८२ लाख ५२ हजार ५६५ र नेपाल पुनरबीमा कम्पनी ११ करोड ५९ लाख २३ हजार बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भए ।
पाँच कम्पनीको शेयरमा सर्किट
नेप्सेका अनुसार आज विभिन्न पाँच कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । नारायणी डेभलपमेन्ट बैंक, नेपाल फाइनान्स, पोखरा फाइनान्स, कर्पोरेट डेभलपमेन्ट बैंक र मध्यभोटेकोशी जलविद्युत् कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । सिभिल लघुवित्त ९.९२ र न्यादी हाइड्रोपावरका लगानीकर्ताले ९.७९ प्रतिशतले कमाए ।

यसैगरी, माउण्टेन इनर्जी नेपाल ३.५२, नेपाल एसबिआई बैंक २.०१, शिवम् सिमेन्ट १.४९ र एनएमबी ५० का लगानीकर्ताले १.३१ र रुरु जलविद्युत् परियोजनाका शेयरधनीले १.२५ प्रतिशतले गुमाए ।

ताजा खबर