ऋषिङ गाउँपालिकाद्वारा अल्ट्रा म्याराथन आयोजना

२०७८ पौष २७ मंगलबार ११:३७:०० मा प्रकाशित

तनहुँ । तनहुँको ऋषिङ गाउँपालिकाद्वारा आयोजित दोस्रो ऋषिङ अल्ट्रा म्याराथन प्रतियोगिताको तत्कालीन संविधान सभासदस्य झुलबहादुर आलेले मंगलबार शुभारम्भ गरेका छन् ।

म्याराथनको दूरी ४२ दशमलव ५ किलोमिटर छ । म्याराथन प्रतियोगितामा ५३ जनाले भाग लिएका गाउँपालिकाका प्रवक्ता विजय दरैले जानकारी दिए । खुल्ला म्याराथनतर्फ प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः ६५ हजार, ४० हजार, २५ हजार र १० हजारका साथै मेडल, ट्रफी र प्रमाणपत्र उपलब्ध गराइने गाउँपालिकाका अध्यक्ष राजेन्द्र कृष्ण श्रेष्ठले जानकारी दिए ।

यस्तै, स्थानीय म्याराथनतर्फ प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः १५ हजार, १० हजार, ६ हजार र दुई हजारका साथै मेडल, ट्रफी र प्रमाणपत्र उपलब्ध गराइनेछ । त्यसरी नै महिला सर्ट म्याराथनतर्फ प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः १० हजार, आठ हजार, पाँच हजार र दुई हजार उपलब्ध गराइने गाउँपालिकाकी उपाध्यक्ष गिनुमाया थापाले बताइन् ।

ताजा खबर