सङ्कटको समयमा बढी नाफा नखोज्न व्यवसायीलाई अर्थमन्त्रीको आग्रह

२०७८ पौष २६ सोमबार २२:१६:०० मा प्रकाशित

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सङ्कटका बेला पनि बढी नाफामुखी हुने प्रवृत्ति त्याग्न व्यवसायीलाई आग्रह गरेका छन् । बैंक तथा वित्तीय परिसङ्घ नेपाल (सीवीफिन) को दोस्रो वार्षिक साधारणसभामा सोमबार उनले सङ्कटका बेला बढी नाफामुखी हुन नहुने बताएका हुन् ।

बैंक तथा वित्तीय संस्थाले गरेको मागबमोजिम ३० प्रतिशत करबाट केही घटाउन सकिने उल्लेख गर्दै मन्त्री शर्माले बैंकले पनि सङ्कटका बेला बढी नाफामुखी हुन नहुने बताए । “सङ्कट परेको बेला पनि बढी नाफा लिनुपर्छ भन्ने मानसिकताबाट मुक्त हुनुपर्छ कि पर्दैन ?”, उनले भने, “सङ्कटका बेला उद्योगधन्दालाई पनि बचाउनुपर्छ, जनतालाई पनि बचाउनुपर्छ र बैंकलाई पनि बचाउनुपर्छ भन्ने सबैको भावना हुनुपर्यो । यो भावना देखिएको छैन । सङ्कटका बेला मिलेर एकले अर्कालाई बचाउने हो ।”

उनले मुलुकको गार्हस्थ्य उत्पादनमा बैंक तथा वित्तीय क्षेत्रको ठूलो योगदान रहेको चर्चा गर्दै सङ्कटका बेला सरकार, निजी क्षेत्रलगायतले एकले अर्कालाई सहयोग गर्नुपर्नेमा जोड दिए ।

“मुख्य समस्या सङ्कटका बेला पनि बढी नाफा लिनुपर्छ भन्ने प्रवृत्ति हो”, उनले भने, “यो प्रवृत्तिगत समस्यालाई समाधान गर्नका लागि एकअर्काका समस्या बुझेर सहयोग गर्नुपर्छ ।”

मन्त्री शर्माले दक्षिण कोरियालगायतका मुलुकमा शाखा खोल्न बैंकलाई आग्रह गरे । कोरिया, जापान, इजरायललगायत मुलुकबाट अनौपचारिक माध्यमबाट विप्रेषण आउने गरेको सूचना प्राप्त भएको उल्लेख गर्दै उनले ती मुलुकमा शाखा खोल्न आग्रह गरे । त्यसले विप्रेषण औपचारिक माध्यमबाट भित्राउन सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे ।

मन्त्री शर्माले व्यवसाय पनि विशिष्टीकृत गर्नुपर्ने आवश्यकता औँल्याए । बैंकिङ क्षेत्र तथा उद्योग क्षेत्र पनि एकै व्यक्तिले सञ्चालन गर्दा गोलमटोल भएको भन्दै उनले विशिष्टीकरण गर्नुपर्नेमा जोड दिए । “आफूले आफैँलाई ऋण दिने÷लिने देखिएको छ”, उनले भने, “यसले गर्दा ब्याजलगायत तथ्याङ्क सही रूपमा आएनन् ।”

उनले विद्यमान तरलताको अभाव एक महिनाभित्र समाधान हुने पनि बताए । पछिल्लो समय देखिएको तरलताको चाप माघभित्र समाधान हुने मन्त्री शर्माको भनाइ छ । “अर्थतन्त्रमा केही चाप परेको पक्कै हो । तर बाहिर प्रचार गरिएजस्तो सङ्कट आइसकेको छैन’’, उनले भने, “‘सचेत हुने अवस्थामा आएको छ ।

तरलताको जुन अभाव देखिएको छ, यो माघभित्र समाधान हुने गरी कार्य अघि बढाइएको छ ।” कोभिड–१९ का कारण दुई वर्षसम्म व्यवसाय गर्न नपाएका व्यवसायीले वित्तीय संस्थाबाट एकैपटक ठूलो परिमाणमा ऋण प्रवाह हुँदा यस्तो चाप परेको उनले बताए ।

उनले बैंकले व्यवसायीलाई ऋण उपलब्ध गराएपछि निश्चित समयसम्म ब्याज नबढाउनसमेत आग्रह गरे । ऋण लिएर व्यवसाय थालनी गरेको केही समयमै बैंकले ब्याज बढाउने गरेको गुनासो मन्त्रालयमा आउने गरेको भन्दै उनले त्यसो नगर्न आग्रह गरे ।

यसैगरी पछिल्लो समय कोरोना भाइरसको नयाँ भेरियन्ट तीव्ररूपमा फैलिए पनि अर्थतन्त्र सङ्कटग्रस्त हुनेभएकाले अब लकडाउनको बाटो अपनाउन नहुने बताए । “फेरि लकडाउन हुन्छ कि भन्ने आशङ्का कतिपयमा रहेको छ”, उनले भने, “अब हामीले लकडाउनको बाटो अपनाउनु हुँदैन । फेरि लकडाउनको बाटो अपनायौँ भने हाम्रो अर्थतन्त्रले थेग्न सक्दैन ।”

ताजा खबर