काबुल विमानस्थलबाट हराएका बालकको परिवारसँग पुनर्मिलन

२०७८ पौष २६ सोमबार २०:५१:०० मा प्रकाशित

अमेरिकाले अफगानिस्तानमा रहेका आफ्ना सैनिक र सहयोगी फिर्ता लैजाने क्रममा आफ्ना आमाबुवाबाट छुट्टिएर हराएका एक शिशुको अन्ततः परिवारसँग पुनर्मिलन भएको छ । तालिबानले गत अगस्टमा अफगानिस्तान आफ्नो नियन्त्रणमा लिएपछि अफगानिस्तानबाट धेरै मानिसले भागेर अन्यत्र जाने प्रयास गरेका थिए ।

हजारौँ मानिसहरू काबुल विमानस्थलमा छिर्न लागेको बेला भिडमा किचिन नदिन दुईमहिने बालक सोहेल अहमदीलाई एक अमेरिकी सैनिकलाई समात्न दिइएको थियो । तर विमानस्थलभित्र प्रवेश गरिसकेपछि सोहेलको परिवारले उनलाई फेला पार्न सकेन । सोहेलको खोजी तीव्र गरिए सबै प्रयास व्यर्थ भयो ।

उनका पिता मिर्जा अलि अहमदी अमेरिकी राजदूतावासमा सुरक्षा गार्डको काम गर्थे। सोहेल फेला नपरेपछि मिर्जा अलि र उनकी पत्नी अरू चार सन्तानसहित अमेरिका जाने विमान चढे । महिनौँसम्म सोहेल कहाँ छन् भन्ने उनीहरूलाई अत्तोपत्तो थिएन । सोहेल अगस्ट १९ तारिखदेखि हराइरहेका थिए र उनका आमाबुवालाई उनी कहाँ छन् भन्ने कुनै अत्तोपत्तो थिएन ।

तर सोहेलको खोजी परिवारले गरिरहेको वियषमा गत नोभेम्बरमा रोएटर्समा समाचार आएपछि २९ वर्षीय ट्याक्सीचालक हमिद सफीको घरमा उनी छन् भन्ने पत्ता लाग्यो । रोएटर्सका अनुसार सफीले सोहेललाई विमानस्थलको भुइँमा एक्लै रोइरहेको अवस्थामा फेला पारेका थिए ।

सोहेलका आमाबुवालाई खोज्ने प्रयासपछि सफीले उनलाई आफ्नै घरमा लगेर आफ्नो सन्तानसरह हुर्काउने निर्णय गरेका थिए। उनी विवाहित हुन् र उनका छोराछोरी छन् ।

सफी परिवारले सोहेलको नाम मोहम्मद अबेद राख्यो। सफीको फेसबुक पेजमा उनीहरूले सोहेलसहित परिवारको तस्बिर राखे । सोहेल कहाँ छन् भन्ने पुष्टि भएपछि उनका हजुरबुवा मोहम्मद कसिम रजावीले उत्तरपूर्वी बदाख्सान प्रान्तदेखिको लामो यात्रा गरेर काबुल आई आफ्नो नाति फिर्ता गर्न आग्रह गरे । तर सफीले फिर्ता गर्न अस्वीकार गरेका थिए ।

रोएटर्स समाचारसंस्थाका अनुसार सफीले त्यसका लागि उनका परिवारलाई पनि अमेरिका लगिनुपर्ने माग गरेका थिए । सात हप्ताको वार्तापछि र सफीलाई केही समय थुनामा राखेपछि तालिबान प्रहरीले दुई परिवारबीच कुरा मिलाएको थियो । त्यसैअनुसार शनिवार ती बालक उनको हजुरबुवालाई फिर्ता गरिएको रोएटर्सले जनाएको छ ।

सोहेलको परिवारले भिडिओमार्फत् पुनर्मिलन भएको दृश्य हेर्न पाउँदा आफूहरू निकै खुसी भएको बताएको छ । सोहेललाई अमेरिका पुर्याउने व्यवस्था छिट्टै गरिने आशा परिवारले व्यक्त गरेको छ । उनीहरू अहिले अमेरिकाको मिशिगन राज्यमा बसोबास गर्छन्।

ताजा खबर