श्रीलङ्काका राष्ट्रपतिद्वारा चीनलाई ऋण भुक्तानी पुनर्संरचना गरिदिन आग्रह

२०७८ पौष २६ सोमबार २०:१३:०० मा प्रकाशित

देश आर्थिक सङ्कटमा परेपछि श्रीलङ्काका राष्ट्रपतिले आफ्नो देशको बिग्रँदो आर्थिक अवस्थालाई सुधार गर्न सहयोग गर्न चीनलाई ऋण भुक्तानी पुनर्संरचना गरिदिन आग्रह गरेका छन् ।

गोटाबय राजपक्षले चिनियाँ विदेशमन्त्री वाङ यीसँग आइतवार भएको भेटमा यस्तो अनुरोध गरेका हुन् । गएको एक दशकमा चीनले श्रीलङ्कालाई सडक, विमानस्थल र बन्दरगाह बनाउन पाँच अर्ब अमेरिकी डलरभन्दा बढी ऋण प्रवाह गरेको छ । तर आलोचकहरूले सो पैसा फाइदा नहुने अनावश्यक योजनाहरूमा खर्च गरिएको बताउने गरेका छन् ।

कोभिड–१९ महामारीका कारण देखिएको आर्थिक सङ्कटको समाधानका लागि ऋण भुक्तानीलाई पुनर्संरचना गर्न ध्यान दिए देशका लागि ठूलो सहयोग हुने राष्ट्रपतिले बताएका छन् । विज्ञप्तिमा चीनलाई श्रीलङ्का निर्यात हुने वस्तुमा सहुलियत दिन पनि अनुरोध गरिएको बताइएको छ। यद्यपि त्यसबारे थप विवरण दिइएको छैन ।

गत वर्ष श्रीलङ्काले चीनबाट साढे तीन अर्ब अमेरिकी डलर बराबरको सामान आयात गरेको थियो । राजपक्षले चिनियाँ पर्यटकहरूले कोरोनाभाइरस नियन्त्रणका लागि लागु गरिएका कडा नियमको पालना गरेमा श्रीलङ्काको ढोका उनीहरूका लागि खोल्न सकिने बताएका छन् ।

महामारीअघि श्रीलङ्का आउने पर्यटकमा सबैभन्दा ठूलो सङ्ख्या चिनियाँको थियो र उनले चीनबाट अन्य देशभन्दा धेरै सामान आयात गरेको थियो । हालैका महिनामा श्रीलङ्कामा ऋण र विदेशी मुद्राको गम्भीर सङ्कट देखिएको छ। अनि पर्यटनबाट हुने आम्दानी सुक्दा स्थिति झन् बिग्रिएको छ ।

श्रीलङ्कालाई सबैभन्दा बढी ऋण दिने सूचीमा अन्तर्राष्ट्रिय वित्त बजारबाहेक एशियाली विकास ब्याङ्क र जापानपछि चीन चौथो स्थानमा छ । श्रीलङ्काले यो वर्ष साढे चार अर्ब अमेरिकी डलर ऋण तिर्नुपर्नेछ। त्यसमध्ये ५० करोड डलर जनवरी १८ मा तिर्नुपर्नेछ ।
चीनलाई विश्वसँग जोड्ने दीर्घकालीन बेल्ट एन्ड रोड इनिशटिभमा श्रीलङ्का महत्वपूर्ण साझेदार हो।

ताजा खबर