मापदण्ड पालना गरी पर्यटन व्यवसाय सञ्चालन गर्न सुझाव

२०७८ पौष २५ आइतबार २२:१७:०० मा प्रकाशित

काठमाडौं । कोभिड–१९ महामारीबाट सबैभन्दा बढी प्रभावित बनेको मुलुकको पर्यटन क्षेत्रले बिस्तारै लय लिँदै गर्दा कोभिडको ओमिक्रोन भेरियन्टको त्रासले पुनः पर्यटन क्षेत्रलाई त्रसित बनाएको छ । पछिल्ला दिनमा कोभिडका सङ्क्रमितको सङ्ख्या पनि ह्वात्तै बढेपछि महामारी नियन्त्रणका लागि सरकारले सरोकारवाला निकायसँग छलफल गरिरहेको छ । महामारीको अवस्था हेरेर स्मार्ट लकडाउन गर्नेसम्मका विषयमा छलफल भइरहेको छ ।

यसै सन्दर्भमा पर्यटन क्षेत्रका व्यवसायीले स्वास्थ्य मापदण्डको पालना गरेर व्यवसायलाई निरन्तरता दिन माग गरेका छन् । नेपाल पर्यटन बोर्डले कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमण बढ्दै जाँदा पर्यटन क्षेत्रसँग सरोकार राख्ने संस्था तथा व्यक्तिहरुसँग आइतबार गरेको छलफलमा निजी क्षेत्रका संस्था तथा पर्यटन व्यवसायीले स्वास्थ्य मापदण्डहरुको पालना गर्दै पर्यटनलाई चलायमान बनाउनुपर्ने सुझाव दिएका हुन् ।

साथै उनीहरुले कोरोना सङ्क्रमण भन्दै हठात लकडाउन गर्ने जस्ता कार्यक्रमले विगतमा पर्यटन क्षेत्र धराशयी भएको भन्दै त्यस्ता निर्णय नगर्न पनि सरकारसँग अनुरोध गरेका छन् । सङ्क्रमण बढ्दै जाँदा सचेतना अपनाउने तथा खोपलाई प्रभावकारी बनाउँदै पर्यटनलाई चलाउनुपर्ने व्यवसायीको सुझाव छ ।

कार्यक्रममा पर्यटन बोर्डका कार्यकारी प्रमुख डा धनञ्जय रेग्मीले विगतमा कोभिडको सङ्क्रमण र सीमित स्रोत र साधनका बीचमा पनि बोर्डले विभिन्न कार्यक्रमहरु गर्दै आएको जानकारी दिए । उनले फेरि कोभिडको नयाँ सङ्क्रमण बढिरहेको सन्दर्भमा निजी क्षेत्रको सुझाव आवश्यक पर्ने भएकाले कार्यक्रम आयोजना गरिएको बताए ।

नेपाल एसोेसिएसन अफ टुर एन्ड ट्राभल एजेन्टस् (नाटा) का अध्यक्ष अच्युत गुरागाईंले कोभिडविरुद्ध बुस्टर खोप बढाउन र स्वास्थ्य मापदण्डको पालना गर्दै पर्यटनलाई चलायमान बनाउनुको विकल्प नरहेको बताए । पर्यटन व्यवसायी विजय अमात्यले कोभिडको अवस्थालाई हेरेर पर्यटन बोर्डले बजार रणनीति परिवर्तन गर्न सुझाव दिए ।

यस्तै एक्सपिडिसन अपरेटर एसोसिएसनका अध्यक्ष तथा पर्यटन व्यवसायी डम्बर पराजुलीले पर्यटकलाई बोलाउने तर नेपाल आइसकेपछि समस्या नपर्ने खालले मापदण्ड बनाउनुपर्ने बताए ।

कार्यक्रममा बोर्डका वरिष्ठ निर्देशक नन्दिने लाहे थापाले जनसम्पर्क तथा प्रचारप्रसार, अर्का वरिष्ठ निर्देशक हिक्मत सिंह ऐरले आन्तरिक पर्यटन प्रवद्र्धन तथा योजना, कर्पोरेट निर्देशक सन्तोष पन्तले बोर्डको आयव्ययको अवस्था, निर्देशक मणिराज लामिछानेले अनुसन्धान तथा पूर्वाधार विकास एवं निमित्त बजार निर्देशक लक्ष्मण गौतमले बोर्डले यो बीचमा गरेका बजार प्रवद्र्धन तथा जीविकोपार्जनका लागि पर्यटन पुनरुत्थान परियोजना (एसटिएलआरपी)का राष्ट्रिय कार्यक्रम प्रबन्धक ज्ञानेश्वर महतोले युएनडिपी र पर्यटन बोर्डको सहकार्यमा सञ्चालनमा आएको एसटिएलआरपीका बारेमा आफ्नो प्रस्तुती गरेका थिए ।

कार्यक्रममा पर्यटनसँग सम्बन्धित नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्टस् (नाटा), टेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (नाटा), प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) एक्सपिडिसन अपरेटर एसोसिएसनलगायतका संस्थाका प्रमुख तथा प्रतिनिधि सहभागी थिए । बोर्डले यो बीचमा आफूले गरेका कामबारे जानकारी दिँदै नयाँ परिस्थतिमा कसरी जाने भन्नेबारे निजी क्षेत्रसँग सुझाव लिएको हो ।

ताजा खबर