इजरायलका साढे दुई लाख मानिसलाई कोरोनाविरुद्धको चौथो खोप

२०७८ पौष २५ आइतबार २२:१२:०० मा प्रकाशित

इजरायलका दुई लाख ५० हजारभन्दा बढी मानिसलाई कोरोनाभाइरस विरुद्धको चौथो खोप दिइएको छ । कोरोनाभाइरसका नयाँ नयाँ भेरियन्टहरू देखिँदै थप तिव्रताका साथ फैलिन थालेपछि अतिरिक्त खोप लगाउने क्रममा इजरायलमा चौथो खोप लगाउन थालिएको हो ।

अतिरिक्त खोप लगाएकालाई कोरोना लागे पनि कम असर गर्ने अध्ययनबाट पुष्टि भएकाले विभिन्न देशहरूले अतिरिक्त खोप लगाउने अभियान सुरु गरेका छन् । केही दिन अगाडि सुरु भएको चौथो खोप लगाउने अभियानअन्तर्गत सुरुमा अग्रपङ्क्तिमा काम गर्ने र ज्येष्ठ नागरिकहरूलाई लगाउने गरिएको छ ।

चौथो खोप लगाउने अभियान अत्यन्त प्रभावकारी र तीव्ररूपमा भइरहेको प्रधानमन्त्री नाफ्ताली बेन्नेटले जानकारी दिए । आइतबार मात्रै पाँच हजार जनालाई अतिरिक्त खोप लगाइएको विवरण सार्वजनिक गरिएको छ । सोही अवधिमा नयाँ सङ्क्रमितहरूको सङ्ख्या भने १७ हजारभन्दा धेरै रहेको छ ।

इजरायलमा गत सोमबारदेखि ६० वर्ष वा सोभन्दा बढी उमेरका र स्वास्थ्यकर्मीहरूलाई चौथो मात्रा खोप लगाउन थालिएको हो । तेस्रो मात्रा खोप लगाएको कम्तीमा चार महिना पूरा भएकाहरूले मात्रै चौथो मात्रा खोप लगाउने पाउने व्यवस्था गरिएको छ ।

देशमा चौथो मात्राको खोप लगाउन सुरु गर्ने निर्णय सरकारले अघिल्लो आइतबार मात्रै गरेको हो । कोरोनाभाइरस विरुद्ध चौथो मात्रा खोप लगाउन सुरु गर्ने देशमा इजरायल नै पहिलो देश भएको छ ।

ताजा खबर