ए डिभिजन लिगमा थ्री स्टारको जित

२०७८ पौष २५ आइतबार २१:४६:०० मा प्रकाशित

काठमाडौं । थ्री स्टार फुटबल क्लबले राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिगमा हिमालयन शेर्पाविरुद्ध सुखद नतिजा निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा आइतबार भएको खेलमा थ्री स्टारले हिमालयन शेर्पामाथि २–० को जित दर्ता गर्दा सुखद नतिजा हात पारेको हो । थ्री स्टारलाई जित दिलाउन अघिल्लो खेलमा मात्र अनुबन्ध भएका घानेफो अन्सुमाना क्रोमाले एक गोल गरे भने एक गोल भने आत्मघाती उपहार पाएको थियो ।

सुरुवाती अग्रता लिने क्रममा हिमालयन शेर्पाका रक्षक अमृत श्रेष्ठले क्लियर गर्ने खोजेको बल गोलमा परिणत हुँदा थ्री स्टारले ५६औं मिनेटमा आत्मघाती गोलबाट सुरुवाती अग्रता बनाएको थियो ।

थ्री स्टारका ऋतिक कुमार खड्काले अघि बढाएको बल अमितलाई लाग्दै गोलमा परिणत भएको थियो । त्यसपछि प्रतिस्पर्धात्मक बनेको खेलमा हिमालयन शेर्पा खेलमा फर्किन प्रयास गरे पनि सफल हुन सकेन । १० मिनेट थपिएको इन्जुरी समयको छैटौं मिनेटमा अन्सुमानाले गोल गर्दै थ्री स्टारलाई २–० को जित निश्चित गराए ।

यसँगै थ्री स्टारलाई लगातार दोस्रो जित निकालेको छ । यस अघिको खेलमा थ्रि स्टारले जावलाखेल युथ क्लबलाई २–१ ले हराएको थियो । अघिल्ला खेलमा खराब नतिजाबाट ग्रुजिएको थ्रि स्टार लयमा फर्किने प्रयास गरेको छ । यस जितसँगै थ्री स्टारले ८ खेलमा १३ अंक जोडेको छ । थ्री स्टार पाँचौं स्थानमा उक्लिएको छ । हिमालयन शेर्पाले ८ खेलमा ११ अंक जोडेको छ ।

शेर्पा छैटौं स्थानमा झरेको छ । खेलमा थ्री स्टारका ऋतिक खड्का म्यान अफ दि म्याच चुनिए भने थ्री स्टारकै निशान खड्का इमर्जिङ प्लेयर चुनिएर नगद १० हजार रुपैयाँ हात पारे । लिगमा सोमबार दशरथ रंगशालामा नेपाल पुलिस क्लब र ब्रिगेड ब्वाइज क्लब (बिबिसी) बीच आठौं चरणको अन्तिम खेल हुनेछ ।

ताजा खबर