पाकिस्तानको पञ्जाबमा भारी हिमपातका कारण कम्तीमा २२ जनाको मृत्यु

२०७८ पौष २५ आइतबार ११:१२:०० मा प्रकाशित

उत्तरी पाकिस्तानको पञ्जाब प्रान्तमा ठूलो हिमपात हुँदा सवारीसाधनभित्र फसेका कम्तीमा २२ जनाको मृत्यु भएको छ । मरीमा हिमपात हेर्न निस्किएका पर्यटकहरू चढेका झन्डै एक हजार सवारीसाधन पहाडी भेगमा अलपत्र परेका हुन् ।

स्थानीय आकस्मिक उद्धार सेवा ११२२ का अनुसार मृत्यु हुनेमा १० पुरुष, दुई महिला र १० बालबालिका भएको बीबीसी उर्दूले जनाएको छ । हिउँमा फसेर ज्यान गुमाउनेमा एक प्रहरी, उनकी श्रीमती र ती दम्पतीका छ सन्तान छन् भने अर्को एक परिवारका पनि पाँच जनाले ज्यान गुमाएका छन् । सेनाले सडक खुलाउने र फसेका मानिसको उद्धार गर्ने प्रयास जारी राखेको छ ।

गृहमन्त्री शेख रसिदका अनुसार राजधानी इस्लामाबादबाट उत्तरमा रहेको त्यस क्षेत्रमा यात्रा गर्नेहरूको सङ्ख्या उच्च भएकाले सङ्कट सिर्जना भएको हो । मरी नगरमा केही दिनयता एक लाख वटाभन्दा बढी गाडी पुगेका थिए ।

सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले त्यहाँ हिउँ खेल्दै रमाएको देखिने तस्बिरहरू प्रेषित गरेका थिए । तर शुक्रवार स्थानीय सञ्चारमाध्यमले त्यहाँ पर्यटकहरू हिउँमा फसेको जानकारी सार्वजनिक गरेका थिए । शनिवारसम्ममा ठूलो हिमपात भएपछि तथा सवारीसाधनको चाप बढेपछि सरकारी अधिकारीहरूले उक्त नगरलाई प्रकोपग्रस्त क्षेत्र घोषणा गरेका छन् ।

समुद्र सतहबाट २ हजार ३०० मिटरमा रहेको स्थानसम्म पुगेका मानिसलाई सरकारी भवन र विद्यालयहरूमा आश्रय दिइएको छ । मरीलाई १९ औँ शताब्दीमा बेलायतीहरूले आफ्नो सेनाका लागि चिकित्सकीय केन्द्रका रूपमा निर्माण गरेका थिए ।

 

ताजा खबर