झम्क तिमल्सिनाको उपन्यास ‘अन्धकूप’

२०७८ पौष २४ शनिबार १८:४३:०० मा प्रकाशित

काठमाडौं । कृषि विकास बैंक कानुन विभागमा कार्यरत कानुन अधिकृत झम्क तिमल्सिनाको पहिलो उपन्यास ‘अन्धकूप’ सार्वजनिक गरिएको छ । नेपाली उपन्यास लेखन परम्परामा नयाँ धारबाट लेखिएको उपन्यास शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठान आख्यान विभाग प्रमुख कथाकार माया ठकुरीले लोकार्पण गरिन् ।

पैरवी बुक हाउस प्रालिले प्रकाशन गरेको उपन्यासले अन्धकारभित्र उज्यालोको खोजी गरेको छ । लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै कथाकार ठकुरीले आजको युवा पुस्ताको दिमाग झक्झक्याउने कृतिका रुपमा ‘अन्धकूप’ पाठकमाझ आएको बताइन् ।

कृषि विकास बंैकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले कला साहित्य क्षेत्रमा विगतदेखि नै बैंकमा कार्यरत कर्मचारीले योगदान दिँदै आएको बताए । उनले शैलेन्द्र साकार, कृष्ण धरावासी, शक्तिवल्लभ, अनिल पौडेलजस्ता साहित्यकारले बैंकमा कार्यरत रहेरै पनि नेपाली साहित्यमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।

लेखक तिमल्सिनाले नेपाली समाजमै देखिने विषयवस्तुलाई आफूले औपन्यासिक रुप दिएको उल्लेख गरे । कार्यक्रममा पैरवी बुक हाउसका अध्यक्ष चन्द्र शिवाकोटीले समाजप्रति उत्तरदायी कृतिलाई पाठकले मन पराउने गरेको बताए । दुई सय ५१ पृष्ठको पुस्तकको मूल्य ४७५ रुपैयाँ छ ।

ताजा खबर