अफगान बैंकहरूमा आर्थिक अभाव घट्दै

२०७८ पौष २४ शनिबार ०९:४९:०० मा प्रकाशित

अफगानिस्तानका बैंकहरूमा दिनदिनै अभाव घट्दै गएको र अन्तर्राष्ट्रिय समुदायले पनि देशलाई नगद उपलब्ध गराएको तालिवान समूहले जनाएको छ् । अफगानिस्तानको वित्तीय स्रोतको सुरक्षा भइरहेको र आर्थिक सङ्कट पनि रोकिइरहेको तालिबानका कार्यवाहक विदेशमन्त्री आमिर खान मोताकीको भनाइ उद्धृत गर्दै खामा प्रेसले जनाएको छ ।

उनले तालिबानले अफगानिस्तानको आर्थिक पतनलाई रोकेको बताए । मोताकीले भने, “अफगानिस्तानका बैंकहरूमाथि दिनदिनै दबाब घट्दो छ ।” तालिवानको अन्तरिम सरकारले अहिलेसम्म कर्मचारीको तलबको बिल तीन महिनाका लागि भुक्तानी गरेको र चौथो महिनाको तलब दिने तयारी भइरहेको पनि उनले बताए ।

तथापि, ठोस सहयोगको अभावमा अफगानिस्तानमा मानवीय स्थिति दिन प्रतिदिन खराब हुँदै गइरहेको भन्दै संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रमले अफगानिस्तानको स्थितिलाई सम्बोधन गर्न हालसम्म १.५ बिलियन अमेरिकी डलर संकलन गरेको जनाएको छ ।

एसियाली राष्ट्र अफगानिस्तानमा देशका अधिकांश भूभागमा हिउँ परेको र हिउँदे बर्षाका कारण उपलब्ध खाद्यान्नलाई आवश्यक भएको स्थानमा पुर्याउन कठिनाई भइरहेको संयुक्त राष्ट्रसंघका मानवीय सहायतासम्बन्धी समन्वय कार्यालयका महासचिव स्टेफन डुजारिकले बताए । उनले हालसम्म १.५ अर्ब अमेरिकी डलर संकलन गरिसकेको बताएका छन् ।

ताजा खबर