ओमिक्रोन भेरियन्टको संक्रमण बढ्न नदिन उच्च सतर्कता अपनाउन मातहतका निकायलाई प्रधानमन्त्रीको निर्देशन

२०७८ पौष २३ शुक्रबार १९:०७:०० मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट संक्रमण बढ्न नदिन उच्च सतर्कता अपनाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

शुक्रबार अपरान्ह सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिको बैठकमा प्रधानमन्त्रीले ओमिक्रोन भेरियन्ट संक्रमण बढ्न नदिन र संक्रमितहरुको उपचारमा विशेष ध्यान दिन सम्बन्धित निकायलाई निर्देशन दिएका हुन् ।

बैठकमा प्रधानमन्त्रीले यसको संक्रमणदर बढ्न नदिन सीमा नाकाहरुलाई चुस्त दुरुस्त बनाउन र संक्रमितहरुको खाना तथा बस्नको आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएका छन् । संक्रमितहरुको परीक्षण, उनीहरुको उपचारको व्यवस्था र कोभिडविरुद्धको खोप लगाउने कामलाई पनि अझ तीव्रता दिन प्रधानमन्त्रीबाट निर्देशन भएको स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले जानकारी दिए ।

बैठकमा ओमिक्रोन भेरियन्टको संक्रमणदर बढ्दै गएमा छिट्टै अर्को बैठक बोलाएर स्मार्ट लकडाउन गर्ने विषयमा पनि छलफल भएको छ । संक्रमितहरुको संख्या बढेर गएमा भिडभाड हुने सिनेमा हल, हिउँदे विदालाई ध्यानमा दिएर विद्यालयहरु बन्द गर्ने जस्ता स्मार्ट लकडाउनका विषयमा पनि छलफल गरिएको मन्त्री खतिवडाले जानकारी दिए । बैठकले तेस्रो चरणको बुष्टर खोप अघि बढाउने अनुमति पनि दिएको छ ।

ताजा खबर