‘लिभिङ टुगेदर’मा बस्दै आएका युवायुवतीको रहस्यमय मृत्यु

२०७८ पौष २३ शुक्रबार १८:३७:०० मा प्रकाशित

काठमाडौं । काठमाडौँ महानगरपालिका–६ कपनमा ‘लिभिङ टुगेदर’मा बस्दै आएका दुई जनाको रहस्यमय मृत्यु भएको छ । खोटाङ शाक्ला गाउँपालिका–५ घर भएकी २२ वर्षीया युशिना राई गएराति कोठामा मृत फेला परेका र उनीसँगै बस्ने सङ्खुवासभा घर भएका २५ वर्षीय अनिष जिमीको उपचारको क्रममा मृत्यु भएको छ ।

उनीहरु पब्जी खेलबाट चिनाजान भएको हुँदा झण्डै एक महिनादेखि सँगै बस्दै आएका थिए । आफन्तको घरमा बसेका उनीहरु चिच्याएको आवाज सुनिएपछि राति कोठामा हेर्दा गम्भिर अवस्थामा फेला परेको परिवारले जनाएको छ ।

प्रहरीकोमा राति १२ः४५ बजे घटनाबारे जानकारी आएको र तत्कालै प्रहरी परिचालन गरिएको महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए । प्रहरीले पब्जी खेलकै कारण घटना घटेको आशङ्का गरेको छ ।

घटनाको अनुसन्धान भइरहेको उनले जानकारी दिए । शरिरमा रगत लतपतिएको र चक्कुले हानेको घाउ छ । यसैगरी काठमाडौँको चन्द्रागिरी नगरपालिका–१ दहचोक बस्ने मोरङका २५ वर्षीय दीपक रिसिदेव थानकोट–चितलाङको भीरमा मृत भेटिएका छन् ।

मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङबाट पुस १६ मा वेपत्ता भएका उनको महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले शव फेला पारेको हो ।

ताजा खबर