'ओलीजीले कसरी हार स्वीकारेको होला ?'

२०७८ पौष २३ शुक्रबार १७:२६:०० मा प्रकाशित

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभा निर्वाचनमा हार स्वीकार गरिसकेको बताएका छन् । पार्टीको काठमाडौं महानगर कमिटीले शुक्रबार आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले राष्ट्रियसभाको निर्वाचनमा ओलीले हार स्वीकार गरिसकेको बताएका हुन् ।

एमाले अध्यक्ष ओलीले शुक्रबार पार्टी जिल्ला अधिवेशन उद्घाटनका क्रममा राष्ट्रियसभा निर्वाचनको परिणाम आफ्नो पार्टीका लागि प्रतिकूल हुने बताएका थिए । ओलीको सोही भनाइ उदृत गर्दै अध्यक्ष नेपालले ओलीले आफ्नो दम्भी स्वभाव विपरीत राष्ट्रियसभाको निर्वाचनमा आफ्नो पार्टीको पराजय निश्चित् छ भनेर भाषणमै स्वीकार गरेको बताए ।

उनले ओलीले देशभर एकसाथ जिल्लाहरुको अधिवेशन उद्घाटन गरेर नयाँ नेतृत्व स्थापित हुन नदिएको आरोप समेत लगाए । जिल्लाजिल्लामा गरेको भए नेताहरु जाने, सम्बोधन गर्ने अवसर हुने र त्यसले नेतृत्व स्थापित हुने अध्यक्ष नेपालको भनाइ थियो । तर त्यो पद्धति ओली समूहमा नरहेको अध्यक्ष नेपालले बताए । उनले ओलीसँग आलोचनात्मक चेत भएका, सिद्धान्तनिष्ट कार्यकर्ताहरु नभएको जिकिर गरे ।

उनले भने, ‘आज तपाइँहरुले सुन्नुभयो होला नि केपी ओलीको एउटा भाषण ? त्यो भाषणमा अब राष्ट्रियसभाको चुनावमा हाम्रो पराजय निश्चित छ भनेर स्वीकार गरिएको छ । तर कसरी स्वीकार गरे होला ? त्यो दम्भी स्वभावले त दिँदैन ।’अध्यक्ष नेपालले जनताको जीवन परिवर्तन गर्नका लागि आफ्नो पार्टी स्थापना गरेको बताए ।

ताजा खबर