हामी एक प्रकारको घेराबन्दीमा छौं :अध्यक्ष ओली

२०७८ पौष २३ शुक्रबार १२:२६:०० मा प्रकाशित

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जिल्ला कमिटीहरुलाई समझदारीमा नेतृत्व चयन गर्न आग्रह गरेका छन् । शुक्रबार ६० भन्दा बढी जिल्लाको अधिवेशनको एकैपटक भर्चुअल माध्यमबाट उद्घाटन गर्दै अध्यक्ष ओलीले सकेसम्म उच्च समझदारीका साथ नेतृत्व चयन गर्न आग्रह गरेका हुन् ।

उनले समझदारीमा नेतृत्व चयन नभए स्वच्छ प्रतिस्पर्धामा जान आग्रह गरे । उनले भने, ‘पार्टीको महाधिवेशनमा उच्चस्तरीय समझदारी गरिएको र समझदारी नभएको पदमा लोकतान्त्रिक ढंगले नेतृत्व चयन गर्यौं । तपाइँहरु पनि सकेसम्म समझदारीमा नेतृत्व चयन गर्नुस् । तर समझदारी नभए स्वच्छ रुपमा प्रतिस्पर्धामा जानुहोला । हामीले पूरा गर्नुपर्ने दायित्व धेरै छन्। साकार पार्नुपर्ने सम्भावना रहेकाले यसलाई पूरा गर्न एमाले अगाडि बढेको छ।’ उनले नेपालमा अस्थीरता र आफ्नो स्वार्थमा केन्द्रित हुने, इश्र्या भावले ग्रस्त हुने, अहंकार तथा आफ्ना तुष्टिमा अल्झिने खालका प्रवृत्ति राष्ट्रिय राजनीतिमा देखापरेकाले एमाले त्यस्तो काममा नलाग्ने बताए ।

उनले भने, ‘एमाले मात्रै यस्तो पार्टी हो जसले राष्ट्रिय आकांक्षालाई आफ्नो गन्तव्य बनाएको छ । ‘समृद्ध नेपाल, सुखी नेपाली’लाई आफ्नो गन्तव्य बनाएको छ । गन्तव्यमा पुग्नका लागि एमालेले सही विचार सही बाटो अबलम्बन गरेको छ । सामाजिक न्यायसहितको समृद्धि र सुखका आधारहरु सहितको समृद्धि हाम्रो एजेण्डा हो ।’

उनले एमाले विश्वस्तरमा श्रेष्ठताको दाबी गर्ने पार्टी भएको बताए । उनले भने,‘एमाले विश्वस्तरमा श्रेष्ठताको दाबी गर्छ । बैचारिक, दार्शनिक, आर्थिक हिसावले हाम्रा नीति, मूल्यमान्यता हाम्रा विचार श्रेष्ठताको दाबी गर्ने खालका छन् र त्यसलाई पुष्टि पनि गर्न सक्छौं ।’ उनले एमाले जे भन्छ त्यही गर्न पार्टी भएको बताए । उनले भने, ‘असंवैधानिक ढंगले सरकार गिराउने र विरोधी शक्तिसँग मिलेर सुशासन र विकासलाई मूलमन्त्र बनाएर हिँडिरहेको सरकार ढालेर पाँच दिशातिर फर्किएको र गन्तव्य नभएको सरकार बनाउने र कार्यकर्ता अल्मल्याउने नीति एमालेको होइन । हामी जे भन्छौं त्यही मात्र गर्छौ । यसमा स्पष्ट हुन आग्रह गर्छु।’

अध्यक्ष ओलीले राष्ट्रिय सभाको निर्वाचनको परिणाम प्रतिकुल आउनसक्ने भन्दै त्यसबाट विचलित नहुन आग्रह गरे । उनले भने,‘त्यो आजको जनमत होइन, त्यो यथार्थ जनमत होइन । चार वर्ष अघिको जनमत विभिन्न पक्षलाई सीट दिएर विभिन्न प्रकारका व्यवस्थापन गरेर बाँडेका थियौं । अहिले जनता मतदाता होइनन्, निर्वाचित पहिलेकै जनमतबाट तिनीहरुलाई नै एउटा विगार्ने प्रतिक्रियावादीहरुसँग मिलेर लागेका छन् । हामी विचालित हुनु पर्दैन । एमाले एक्लै मजबुत छ । यो एमालेलाई हानिकारक प्रहारको अन्तिम किस्ता यही हो । जनतामा अब जाँदा यो हैसियत उनीहरुको हुँदैन । एमालेलाई गठबन्धन चाहिएको छैन, एक्लै सामना गर्न तयार छ । कमजोरलाई मात्र चाहिने हो गठबन्धन ।’

उनले आफूले सरकार सञ्चालन गर्दा घेराबन्दीमा पारिएको बताए । उनले भने, ‘एमालेले पार्टीबाट निकालेका सांसदलाई कारबाही नगरेको कुरा हामीले देख्यौं । यसबाट के देखाउँछ भने हामी एक प्रकारको घेराबन्दीमा छौं । तर जनताको रक्षाकवच एमालेको छ । परमादेश अनन्त सत्य होइन, जहाँ पनि जनादेश अन्तिम सत्य हो । हामी मताधिकारको प्रतिक्षामा छौँ । तयारीका साथ प्रतिक्षामा रहनेछौँ ।’

ताजा खबर