प्रधानमन्त्री कप क्रिकेटमा आर्मी क्लब र पुलिस एकै समूहमा

२०७८ पौष २२ बिहीबार २२:३१:०० मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब एकै समूहमा परेका छन् । यही पुस २६ देखि माघ ५ गतेसम्म आयोजना हुने उक्त प्रतियोगितामा विभागीय दुई बलिया टोली एकै समूहमा परेका हुन् ।

समूह ए मा साविक विजेता त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश, नेपाल पुलिस क्लब, सुदूरपश्चिम प्रदेश र प्रदेश नम्बर १ छन् । त्यसैगरी समूह बी मा नेपाल एपिएफ क्लब, प्रदेश नम्बर २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश छन् । प्रतियोगिताको खेल कीर्तिपुरस्थित त्रिवि मैदान र मूलपानी क्रिकेट मैदानमा हुने नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएकोे छ ।

प्रधानमन्त्री कप क्रिकेट पहिलो पटक टि–२० शैलीमा हुन लागेको हो । यसअघि एक दिवसीय शैलीमा हुँदै आएको थियो । आगामी फेब्रुअरीमा ओमानमा हुने आइसिसी टि–२० विश्वकप ग्लोबल छनोट ए लाई मध्यनजर गर्दै यसपटक भने टि–२० शैलीमा आयोजना गर्न लागिएको क्यानले जनाएको छ । यही पुस २६ गते हुने उद्घाटन खेलमा आर्मी र कर्णाली प्रदेश भिड्नेछन् ।

खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा हुनेछ । सोही दिन त्रिवि मैदानमा नै एपिएफ र प्रदेश २ बीच पनि खेल हुनेछ । सोही दिन उता मूलपानीमा पहिलो खेलमा पुलिस र सुदूरपश्चिम भिड्नेछन् भने दोस्रो खेलमा बागमती र लुम्बिनीबीच खेल हुनेछ ।

ताजा खबर