मोरङ जिल्ला अदालतद्वारा गोरेका भाइसँग दुई लाख धरौटी माग

२०७८ पौष २२ बिहीबार २१:२३:०० मा प्रकाशित

विराटनगर । साढे ३३ किलो सुन तस्करीको आरोप लागेका रमेश उप्रेतीलाई मोरङ जिल्ला अदालतले २ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ । मोरङ जिल्ला अदालतका न्यायाधीश भरत लम्सालको इजलासले यस्तो आदेश जारी गरेको हो ।

सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका मुख्य नाइके गोरे भनिने चूडामणि उप्रेतीका भाइ रमेशलाई बिहीबार मोरङ जिल्ला अदालतले २ लाख रुपैयाँ धरौटी लिई तारेखमा राखी मुद्दाको पुर्पक्ष गर्न आदेश जारी गरेको हो । रमेशलाई संयुक्त अरब ईमिरेट्सबाट केही दिन अगाडि मात्रै प्रहरीले पक्राउ गरेर नेपाल ल्याएको थियो ।

रमेशविरुद्ध सांगठित अपराध, अवैध सुन चोरी निकासी गरी राजस्व छली गरेको तथा सनम शाक्यको हत्या गरेको अभियोग लगाइएको थियो । उक्त घटनामा ६३ जनालाई प्रतिवादी बनाउँदै मोरङ अदालतमा मुद्दा दायर भएको थियो ।

मुख्य नाइके भनिएका गोरे भने दोषी ठहर भई जेलमा रहेका छन् । २०७४ साल माघको पहिलो साता विमानस्थलबाट बाहिरिएको सुन गायव भएको थियो । सो प्रकरणमा गोरेको समूहले यातना दिँदा मोरङको उर्लावारीका शाक्यको ज्यान गएको थियो ।

 

ताजा खबर