नेप्सेको उकालो यात्रा, तीन कम्पनीको शेयरमा सर्किट

२०७८ पौष २२ बिहीबार १८:२४:०० मा प्रकाशित

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक यस साता लगातार उकालो लागे । यसै क्रममा शेयर कारोबार हुने साताको अन्तिम दिन बिहीबारसमेत कारोबार मापक नेप्से परिसूचक ४३.२९ अङ्कले उकालो लागेर दुई हजार ६९२.४७ मा पुगेको छ । यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ९.१६ अङ्कले बढेर ५०६.१६ मा पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार भएकामध्ये १६४ कम्पनीको शेयर उकालो लागे भने २३ कम्पनीको शेयर मूल्यमा गिरावट देखियो । यस्तै तीन कम्पनीको शेयर मूल्यमा भने कुनै परिवर्तन भएन ।

कारोबार भएका १३ उपसमूहमध्ये उत्पादन ५.९८ र व्यापार १९.३५ अङ्कले ओरालो लागे । यस्तै बैंकिङ ३५.०७, विकास बैंक ८८.४८, वित्त २७.४८, होटल तथा पर्यटन १०७.४७, जलविद्युत् ७२.२०, लगानी १.६१, लघुवित्त ५३.०८, सामूहिक लगानी कोष ०.१०, निर्जीवन बिमा २४३.९३, अन्य २०.४१ र जीवन बिमा ११४.५४ अङ्कले उकालो लागे ।

बाँकी ११ उपसमूहको शेयर मूल्य भने उकालो लागे । कारोबारका आधारमा अपिपावर कम्पनी शीर्षस्थानमा रह्यो । सो कम्पनीको १६ करोड ३७ लाख ६ हजार ६६८ बराबरको कारोबार भयो ।

यस्तै एनआइसी एशिया बैंक १४ करोड ५२ लाख १९ हजार १४८, नेशनल माइक्रोफाइनान्स १० करोड ३६ हजार २५१, गरिमा विकास बैंक नौ करोड ३३ लाख ५९ हजार ७८७ र हिमालयन डिस्टिलरी आठ करोड ७७ लाख ९४ हजार ५२३ बराबरको कारोबार भई शीर्ष पाँचभित्र परे । नेप्सेका अनुसार नेपाल फाइनान्स, तेह्रथुम पावर र मध्यभोटेकोसीको शेयरमा सकारात्मक सर्किट लाग्यो ।

राष्ट्रिय बिमा कम्पनी ६.७४ र मैलुङखोला जलविद्युत् परियोजनाको शेयरमा ६.५८ प्रतिशतको वृद्धि भयो । यस्तै एनबिबीएल डिवेञ्चर ३.५३, विशाल बजार कम्पनी २.१५, हिमालयन बैंकको डिवेञ्चर १.९९, एसबिएल डिवेञ्चर १.९४ र माछापुच्छ्रे बैंकको डिवेञ्चरका लगानीकर्ताले १.८३ प्रतिशतले गुमाए । बिहीबारको कारोबारपछि बजार पूँजीकरण रु ३८ खर्ब तीन अर्ब ३४ करोड ६२ लाख ६० हजार २५८ बराबर पुगेको छ ।

ताजा खबर