इटलीको जेलबाट भागेका माफिया सरदार २० वर्षपछि पक्राउ

२०७८ पौष २२ बिहीबार ११:५१:०० मा प्रकाशित

दुई दशकदेखि फरार रहेका इटलीका एक माफिया सरदार गुगल म्याप्समा देखिएपछि पक्राउ परेका छन् । ६१ वर्षीय जोआकिनो गामिनो स्पेनको गालापगारमा फेला परेका हुन्। त्यहाँ उनी मानूएल नाम राखेर छद्म भेषमा बसेका थिए ।

अनुसन्धानकर्ताहरूका अनुसार उनलाई पत्ता लगाउने मुख्य भूमिका गुगल स्ट्रीट भ्यूको छ । गुगल स्ट्रीट भ्यूमा गामिनोजस्तै देखिने मान्छे एउटा किराना पसलअघि उभिएको देखा परेपछि त्यसैको सहयोगमा उनी पक्राउ परेका हुन् ।

उनी रोम जेलबाट सन् २००२ मा भागेका थिए । उनलाई एउटा हत्यामा दोषी पाइएको थियो र उक्त हत्या भएको एक वर्षपछि आजीवन कारावासको सजाय सुनाइएको थियो । उनी सिसिलीको ’स्टिद्दा’ नामक माफियासँग आबद्ध थिए।

उनी इटलीमा सर्वाधिक खोजिएका अपराधीमध्ये पर्थे । सिसिली प्रहरीले गामिनो स्पेनमा रहेको विश्वास गरेको थियो । तर मानुज् गार्डेनबाहिर एक व्यक्तिसँग उनले कुरा गर्दै गरेको एउटा तस्बिर हात परेपछि प्रहरीले तुरुन्तै अनुसन्धान सुरु गरेको थियो । अहिले बन्द भइसकेको एउटा रेस्टुराँ कोकिना डे मानुको फेसबुक पेज पत्ता लागेपछि प्रहरीले उनको पहिचान सुनिश्चित गरेको थियो।

उक्त रेस्टुराँ र उक्त पसल नजिकै थिए । उक्त रेस्टुराँले गामिनोले शेफको पोसाक लगाएको एउटा तस्बिर पोस्ट गरेको थियो । उनलाई उनको चिउँडोमा भएको खतका आधारमा चिनिएको थियो ।

उक्त रेस्टुराँमा सिसिलीमा प्रचलित खानेकुरा बेचिन्थ्यो । उनी गत डिसेम्बर १७ मा पक्राउ परेका थिए। तर ला रिपब्लिकाले बुधवार मात्र त्यसबारे खबर सार्वजनिक गरेको थियो ।

पक्राउ परेपछि उनले प्रहरीलाई बारम्बार ‘मलाई कसरी भेट्यौँ? मैले १० वर्षदेखि परिवारलाई पनि फोन गरेको छैन’ भनेका थिए । गामिनोलाई अहिले स्पेनमा हिरासतमा राखिएको छ । उनलाई फेब्रुअरीको अन्त्यसम्ममा इटली ल्याउन सकिने आशा राखिएको इटलीको माफिया नियन्त्रण गर्न गठित प्रहरी एकाइका उपनिर्देशक निकोला अल्टिएरोले बताए ।

ताजा खबर