प्रधानमन्त्रीको भारत भ्रमणको सन्दर्भ

२०७८ पौष २२ बिहीबार ११:२६:०० मा प्रकाशित

केशवप्रसाद भट्टराई ।

१. सं ग॑च्छध्वं॒ सं व॑दध्वं॒ सं वो॒ मनां॑सि जानताम् । दे॒वा भा॒गं यथा॒ पूर्वे॑ संजाना॒ना उ॒पास॑ते ॥
ऋगवेद,१०.१९१.२–४

देवता र अगाडिका श्रेष्ठ विद्वानहरूको अभ्यास,विचार र मार्गदर्शन अनुरूप सवै मानिस आपसमा मिलेर, परस्पर संवाद गरेर, एक अर्काको सुख दुःखमा साझेदारी गर्दै, एक अर्काको विचार र अभिप्राय सुन्दै–बुझ्दै , एउटै लक्ष्यमा लक्षित भएर सवै मानिसहरू आफ्नो आफ्नो अधिकार भोग गर्दै, लाभ ग्रहण गर्दै सच्चा सुख भोग गर्दै, आफ्नो राष्ट्र र समाजमा मिलेर बसुन् , राष्ट्र र समाजलाई उन्नत र समृद्ध बनाउन् ।

२. विचारमा अस्थीर र संदिग्ध मित्र वा समर्थक भन्दा आफ्नो विचार र दृष्टिमा स्थीर र प्रष्ट शत्रु वा विपक्षी हजार गुणा असल र भरपर्दो हुन्छ भन्ने कुरा नेपालका राजादेखि काङ्ग्रेस –एमालेका नेता कसैले नबुझेका हुन् ? राष्ट्र र समाज के हो ? कसरी अघि बढ्छ र बाँच्छ भन्नेबारे ध्यान नदिएका हुन् ? भारत जाँदा प्रधानमन्त्रीको ध्यान यसतर्फ जाओस !

३. सवैको मनलाई निचोरिरहेको एउटा प्रश्न छ– नेता, दल, सरकार ,राष्ट्र, राज्य सवैको विश्वसनीयता समाप्त भएर पनि राष्ट्र बाँच्छ ? बाँचे कतिञ्जेल बाँच्छ ? कसरी बाँच्छ ?

४. उदाहरणको रूपमा एमसीसीलाई लिउँ–नेपालका सबैजसो दलका सरकारहरू एमसीसीमा संलग्न छन् । नेपालका सबैजसो दलका सरकारले सो सम्बन्धी सम्झौतामा संलग्न छन् । दुईटा सरकारले हस्ताक्षर गरिसकेका छन् । तर आफ्ना कार्यकर्तामा त्यसबारे विवाद र भ्रम फैलाइरहेका छन् । एउटा स्वेतपत्र जारी गर्नोस् प्रधानमन्त्रीज्यू – एमसीसीबारे–शुरूदेखिका सवै सरकारहरूमा कुनकुन दलको नेतृत्वका सरकारहरूले के के भूमिका निर्वाह गरेका थिए, प्रष्ट राखिदिनोस् ! अनि सवैको अनुहार प्रष्ट हुन्छ । आफैँ जवाफ दिन्छन् अनि किन सबैको भार बोकेर बस्नुहुन्छ ?

५. प्रधानमन्त्री भारत जाँदै हुनुहुन्छ । भारतमा मोदीजीले, अन्य नेताहरू र पत्रकारले एमसिसीबारे सोध्लान्, के जवाफ दिने प्रधानमन्त्रीले ?
अब बाँकी ८–१० महिनाको कार्यकाल होला, तीन वटा चुनाव गराउनु छ, सरकारको दृष्टि र दायित्व अव चुनाव, चुनाव र चुनाव मात्रै हो । अनि सरकारको दैनिक कार्य मात्रै हो । चुच्चे नक्साको विषयलाई अघि बढाउने काम चुनावपछिको सरकारले गरोस् । अहिले सामान्य शिष्टाचार भेटघाट, विचार आदान प्रदान मात्रै गर्ने हो । भारतमा कुनै विवादित काम कुरा गरेर काङ्ग्रेसको चुनावी सम्भावनालाई कमजोर नबनाइयोस् !

६. धेरै वर्षपछि भारतमा बहुमतको शासन छ । राष्ट्र र राष्ट्रियताको मर्मलाई आत्मसात गरेको शासन छ । हिन्दूत्वलाई उसले आफ्नो आदर्श मान्दछ । माथि मैले ऋगवेदको एउटा सन्दर्भ राखेको छु । मोदीको राष्ट्रवाद त्यस्तै अवधारणा वरिपरी छ । विगतमा भारत सरकार र सरकारका अधिकारीहरू सामू केही प्रतिवद्धता जनाउनु भएको छ भने त्यसबारे कमसेकम के भन्ने भनेर तयारी गरेर जानुहोला । गुजरात हाल भारतको दोस्रो राजधानी हो । पहिलो राजधानीलाई दिशा निर्देश गर्ने राजधानी । मोदी तपाइँलाई गुजरातमा भेट्दैछन्–यसको अर्थ र महत्व धेरै गहिरो होला । सम्भवतः भारतीय राष्ट्रियताप्रति इतिहासकै सबैभन्दा प्रतिवद्ध सरकार भारतमा छ । असाधारण राजनीतिक, कूटनीतिक क्षमता र रणनीतिक दृष्टि भएका व्यक्तिहरू सरकारमा छन् । एउटा गुजरातीले पुगेन भनेर गुजरातले अर्को गुजरातीलाई पनि पठायो भारत हाक्न । अनि नेपाल नजिकैको उत्तराखण्डमा जन्मिएका अर्का छन् तेस्रा !
. हुन त तपाइँ अनुभवी हुनुहुन्छ !

 

ताजा खबर