मोदी फ्लाईओभरमा २० मिनेट रोकिनु सुरक्षा त्रुटी

२०७८ पौष २२ बिहीबार ०९:५४:०० मा प्रकाशित

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी प्रदर्शनकारीहरूका कारण पञ्जाबको फ्लाईओभरमा २० मिनेट रोकिएपछि उनको सुरक्षा व्यवस्थामा त्रुटि भएको बताइएको छ । उत्तरी राज्यको एउटा स्मारकमा जाँदै गरेका मोदी किसानहरूको प्रदर्शनका कारण बीच बाटोमै रोकिनुपरेको थियो ।

किसानहरूको मृत्युमा एकजना मन्त्रीका छोरा आरोपित भएपछि ती मन्त्रीको राजीनामा माग गर्दै किसानहरूले प्रदर्शन गरिरहेका थिए । ‘यो प्रधानमन्त्रीको सुरक्षामा प्रमुख कमजोरी हो,’ भारतको केन्द्रीय गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ । मोदीले राज्य विधानसभाको चुनावी सभालाई फिरोजपुरमा सम्बोधन गर्ने कार्यक्रम समेत तय भएको थियो ।

तर सुरक्षा कमजोरीका कारण प्रधानमन्त्री मोदी बीच बाटोबाटै विमानस्थल फर्किएको गृह मन्त्रालयले जनाएको छ । प्रदर्शनकारीहरूले कनिष्ठ गृहमन्त्री अजय मिश्रको राजीनामा माग गरिरहेका थिए ।

उनका छोरा गत अक्टोबरमा आठ जनाको ज्यान जानेगरी भएको एउटा घटनामा आरोपित छन् । मिश्रसँग सम्बन्धित एउटा कार उत्तर प्रदेश राज्यमा प्रदर्शन गरिरहेका किसानहरूमाथि जोतिँदा चार जनाको मृत्यु भएको थियो । किसानहरूले घटनामा मन्त्रीका छोरा अनिश मिश्रको संलग्नता रहेको आरोप लगाए पनि मिश्रले त्यसलाई अस्वीकार गर्दै आएका छन् ।

उनी त्यसपछि राष्ट्रिय सहिद स्मारक र चुनावी सभामा हेलिकप्टरमार्फत् जाने भनिएको थियो । तर मौसमका कारण उडान हुन नसकेपछि उनी सडक मार्ग हुँदै अघि बढेका थिए । तर उनी स्मारक भन्दा ३० किलोमिटर वरै प्रदर्शनका कारण रोकिनुपरेको थियो । गृह मन्त्रालयले गम्भीर सुरक्षा त्रुटिबारे पञ्जाब सरकारसँग विस्तृत विवरणहरू माग गरिएको जनाएको छ ।

ताजा खबर