कोरोना संक्रमण नियन्त्रणका लागि नयाँदिल्लीमा निषेधाज्ञा लगाइने

२०७८ पौष २० मंगलबार २०:५६:०० मा प्रकाशित

कोरोना सङ्क्रमण तीव्र गतिमा बढ्न थालेपछि भारतको राजधानी नयाँदिल्लीमा हप्ताको अन्त्यमा निषेधाज्ञा लगाउने निर्णय भएको छ । मंगलबार बसेको दिल्ली सरकारको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

उपमुख्यमन्त्री मनिष सिसोदियाले संघीय राजधानीसमेत रहेको नयाँदिल्ली र घना क्षेत्र रहेका आसपासका ठाउँसमेतलाई मध्यनजर गरी यो निर्णय गरिएको पुष्टि गरे । हप्ताका अन्य दिनमा भने दिल्लीका बस तथा मेट्रो रेल साबिक झैँ सञ्चालन हुनेछन् ।

उनले हप्तान्तको निशेधाज्ञालाई लकडाउनका रूपमा भने नबुझ्न आग्रह गरे । कोभिड सङ्क्रमणको जोखिम कायमै रहेकाले सार्वजनिक यातायातमा यात्रा गर्दा मास्कविना यात्रा गर्न नपाइने नियमलाई कडाइका साथ लागू गरिने उनले बताए ।

त्यसैगरी सरकारले निजी कार्यलयहरूलाई पनि ५० प्रतिशत कर्मचारीको सहयोगमा नियमित कामकाज गर्ने व्यवस्था गर्न भनेको छ । सरकारले बाँकी ५० प्रतिशतलाई छुट्टी दिन वा घरबाटै काम गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

गत हप्ता ५० मेट्रोरेल र बसमा ५० प्रतिशत मात्र यात्रु बोक्न छुट दिएको सरकारले भीड बढेपछि रेल र बसलाई पूर्ण क्षमतामा चलाउन छुट दिएको छ । दिल्लीमा सोमबार ४ हजार ९९ जना नयाँ सङ्क्रमित भेटिएका थिए भने मङ्गलबार पाँच हजार ४८१ जनालाई कोभिड सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा दिल्लीमा कोभिडका कारण तीन जनाको मृत्यु भएको छ । मङ्गलबारसम्म भारतमा एक हजार ८९२ जनामा कोरोनाको ओमिक्रोन भेरियन्ट देखिएको छ । महाराष्ट्रमा ओमिक्रोनको सबैभन्दा धेरै सङ्क्रमण देखिएको छ ।

ताजा खबर