राष्ट्रियसभा सदस्य निर्वाचनः १९ पदका लागि ४३ जनाको उम्मेदवारी

२०७८ पौष २० मंगलबार १८:११:०० मा प्रकाशित

काठमाडौं । राष्ट्रियसभा सदस्यको १९ रिक्त पदका लागि नौ राजनीतिक दलका ४३ जनाको उम्मेदवारी परेको छ । आगामी माघ १२ गते हुने निर्वाचनका लागि ४३ उम्मेदवारबाट मनोनयनपत्र दर्ता भएको निर्वाचन आयोगका प्रवक्ता शालीग्राम शर्माले जानकारी दिए । निर्वाचनका लागि मंगलबार बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारी मनोनयनको समयावधि तोकिएको थियो ।

आयोगले यही पुस २५ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्नेछ । आगामी फागुन २० गते नेकपा एमालेका आठ, नेकपा (एकीकृत समाजवादी) का चार, नेकपा माओवादी केन्द्रका चार र नेपाली कांग्रेसका तीन राष्ट्रियसभा सदस्यको पदावधि सकिँदैछ । सदस्यको पदावधि समाप्त हुन ३५ दिनअघि नै निर्वाचन गर्नुपर्ने प्रावधान छ ।

प्रबुद्ध वर्गको प्रतिनिधित्व रहने ५९ सदस्यीय राष्ट्रियसभाका एक तिहाइ सदस्यको प्रत्येक दुई वर्षमा पदावधि समाप्त हुने संवैधानिक व्यवस्था छ । निर्वाचनका लागि प्रदेशसभा सदस्य तथा पालिका प्रमुख र उपप्रमुख गरी दुई हजार २५ मतदाता कायम छन् । निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ तथा पालिका प्रमुख र उपप्रमुखको मतभार १८ हुनेछ ।

ताजा खबर