बालुवाटार जग्गा प्रकरणका मुख्य आरोपी ढकालविरुद्ध राजस्व छलीको साढे दुई अर्बको मुद्दा

२०७८ पौष २० मंगलबार १७:०४:०० मा प्रकाशित

काठमाडौँ । राजस्व अनुसन्धान विभागले ललिता निवास जग्गा प्रकरणमा मुख्य आरोपी शोभाकान्त ढकाल, उनकी पत्नी उमाकुमारी ढकाल, पारिवारिक सदस्य सरोज ढकालविरुद्ध राजश्व छलीको मुद्दा दायर गरेको छ ।

विभागले शोभाकान्त, उमाकुमारी र सरोजसहित आनसान इन्टरनेशनल प्रालिका सान्टु श्रेष्ठ र लेखा परीक्षण गर्ने संस्था राजेश्वर एण्ड कम्पनीका प्रोपाइटर राजेश्वर श्रेष्ठविरुद्ध बिगो र जरिवाना गरी २ अर्ब ४० करोड ९८ लाख ३५ हजार ६ सय ४८ रुपैयाँ तथा कैद सजाय माग दाबी गर्दै मंगलबार उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो ।

ढकाल दम्पतीसहित सरोज र सान्टु आनसान इन्टरनेशनल प्रालीका सञ्चालक हुन् । उक्त संस्थाको लेखा परीक्षण गर्ने राजेश्वर श्रेष्ठलाई पनि विभागले कसुरदार देखाएको छ ।

आनसान इन्टरनेशनलले राजस्व चुहावट गर्ने मनसायले जालसाजीयुक्त, नक्कली तथा झुट्टा मूल्य अभिवृद्धि कर विवरण, वित्तीय विवरणहरु तथा आय विवरण तयार गरी कारोबार नै नभएको वा कारोबार शून्य देखाई आयकर र मूल्य अभिवृद्धि कर छलेको विभागको दावी छ ।

विभागका अनुसार आरोपितहरुले मुल्य अभिवृद्धिकर तर्फ ४२ करोड २६ लाख ७ हजार ३ सय ५१, आयकरतर्फ ६८ करोड ४८ लाख २६ हजार ९७ रुपैयाँ र लाभांश तर्फ ९ करोड ७४ लाख ८४ हजार ३ सय ७६ रुपैयाँ गरी कूल १ अर्ब २० करोड ४९ लाख १७ हजार ८ सय २४ रुपैयाँ राजस्व चुहावट गरेको गरेको अनुसन्धानबाट खुलेको छ ।

ताजा खबर