शिशु जन्माएर विमानको शौचालयमा फाल्ने महिला पक्राउ

२०७८ पौष २० मंगलबार ११:०५:०० मा प्रकाशित

एयर मरिशशका कर्मचारीले आफ्नो विमानको शौचालयमा फोहोर फाल्ने भाँडोमा एउटा नवजात शिशु फेला पारेका छन् । म्याडग्यास्करकी एउटी २० वर्षीया युवतीलाई बच्चा जन्माएर त्यसरी फालेको आशङ्कामा पक्राउ गरिएको छ ।

एयर मरिशशको उक्त विमान जनवरी १ मा म्याडाग्यास्करबाट सर सीवुसागुर रामगुलाम अन्तर्राष्ट्रिय विमानस्थलमा आएको थियो । विमानस्थलका अधिकारीहरूले विमानको नियमित जाँच गर्दा त्यहाँ भर्खर जन्मिएको जीवित शिशु फेला पारेका थिए ।

उनीहरूले शिशुलाई तत्काल उपचारका लागि सार्वजनिक अस्पताल पुर्याएका थिए । उक्त शिशुकी आमा भएको आशङ्कामा पक्राउ परेकी महिलाले सुरुमा शिशु आफ्नो नभएको दाबी गरेकी थिइन् ।

चिकित्सकीय परीक्षणमा भने उनले भर्खरै बच्चा जन्माएको पुष्टि भएको छ । अहिले ती महिलालाई प्रहरीको निगरानीमा अस्पतालमै राखिएको छ । उनी र शिशु दुवैको स्वास्थ्य अवस्था राम्रो रहेको बताइएको छ ।

दुई वर्षका लागि काम गर्ने अनुमति लिएर मरिशश आइपुगेकी मालागासी महिलासँग अस्पतालबाट निस्किएपछि थप सोधपुछ गरिनेछ । उनीविरुद्ध नवजात शिशुलाई बेवारिसे अवस्थामा छाडेको आरोप छ ।

ताजा खबर