हेइटीका प्रधानमन्त्रीको हत्या प्रयास

२०७८ पौष २० मंगलबार ०९:०३:०० मा प्रकाशित

शनिवार देशको स्वतन्त्रता दिवस समारोहका क्रममा बन्दुकधारीहरूले हेइटीका प्रधानमन्त्री एरिअल आङ्ग्रीलाई मार्ने प्रयास गरेको अधिकारीहरूले जनाएका छन् । उत्तरी सहर गोनाएभको एउटा गिर्जाघरमा आयोजना गरिएको कार्यक्रममा उनी सहभागी भइरहेका बेला उक्त घटना भएको बताइएको छ ।

अनलाइनमा पोस्ट गरिएका भिडियोहरूमा प्रधानमन्त्री र उनको टोली तीव्र गोली प्रहारकाबीच गाडी तर्फ गएको देखिन्छ । गत जुलाईमा तत्कालीन राष्ट्रपति जोभनेल मोइजको हत्या गरिएपछि हेइटीको सुरक्षा अवस्था व्यापक रूपमा बिग्रिएको छ । आङ्ग्रीले अपहरण मामिलाका आरोपितहरू र देशभरिको ग्यास वितरणलाई नियन्त्रणमा लिएका शक्तिशाली गिरोहविरुद्ध कारबाहीको वाचा गरेका छन् ।

प्रधानमन्त्रीको कार्यालयले आक्रमण गर्ने समूह पर्खाल पछाडि लुकेको र गिर्जाघरलाई घेरेर बिशपलाई धम्की दिएको समाचार संस्था एसोसियटेड प्रेसले जनाएको छ । सुरक्षा निकाय र बन्दुकधारीहरूबीच भएको गोली हानाहानका क्रममा एक जनाको मृत्यु भएको अनि दुई जना घाइते भएको बताइएको छ ।

पछिल्लो आक्रमण आङ्ग्रीले नेतृत्व गरेको कमजोर प्रशासनका लागि अर्को प्रहार हो । उनी मोइजको हत्या भएको दुई साता पछि देशका कार्यवाहक प्रमुख बनेका थिए । त्यहाँ नयाँ राष्ट्रपति चयनका लागि मिति सार्वजनिक गरिएको छैन । हत्या गरिएका राष्ट्रपति मोइजलाई पोर्ट–अ–प्रिन्सस्थित राष्ट्रपतिको निवासमा स्थानीय समय अनुसार बिहान १ बजे अज्ञात हतियारधारीहरूले आक्रमण गरेको बताइएको थियो। घटनामा प्रथम महिला पनि घाइते भएकी थिइन् ।

ताजा खबर