परियोजनाको समय लम्ब्याउनु हुँदैन : अर्थमन्त्री शर्मा

२०७८ पौष १९ सोमबार १८:३०:०० मा प्रकाशित

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले लगानीकर्तालाई समयमै समस्याको जानकारी गराउन आग्रह गरेका छन् । लगानी बोर्डको कार्यालयमा भएको लगानीकर्तासँगको अन्तरक्रियामा अर्थमन्त्रीले लगानीकर्तालाई समयमै समस्याबारे जानकारी गराउन आग्रह गरेका हुन् ।

आयोजनाको निर्माण अवधि लम्बिनु भनेको लगानी बढ्ने र घाटा हुने भन्दै उनले आयोजनामा भएका समस्याहरू समयमै जानकारी गराउन आग्रह गरे । “एउटा आयोजनाको फाइल डेढ महिनादेखि रोकिएको भनेर भर्खर जानकारी गराउनुभयो”, उनले भने, “यस्तो जानकारी समयमै हामीलाई गराउनुहोला । यसले सरकारलाई सहजीकरण गर्न र समस्याको समाधान गर्न छिटो अनि सहज हुन्छ ।” फाइल नै अड्किँदा आयोजनाको समयावधि लम्बिने र घाटा हुने उल्लेख गर्दै उनले समय नै सबैभन्दा ठूलो पुँजी भएको बताए ।

“परियोजनाको समय बित्ने भनेको हाम्रो लगानी बढ्ने हो । अर्को ढङ्गले भन्ने हो भने हामीलाई घाटा हुने हो । व्यावसायिक रूपले हेर्ने हो भने पनि समय बिल्कुलै लम्ब्याउनु हुँदैन”, उनले भने ।

उनले पुराना लगानीकर्तालाई थप लगानी गर्न उत्प्ररेणा जगाउने तथा नयाँ लगानीकर्तालाई समेत लगानीका लागि वातावरण तयार गर्ने प्रतिबद्धता व्यक्त गरे । नेपालमा लगानीका प्रशस्त सम्भावना रहेको र त्यस्ता लगानीले मुलुकको विकासमा महत्वपूर्ण योगदान हुने भन्दै उनले सरकारले उचित सेवा सुविधाको व्यवस्था गर्ने बताए ।

मन्त्री शर्माले लगानी र आयोजनामा रहेका समस्या, अहिलेको अवस्था र समाधानका उपायसहितको टिपोट बनाएर दिन बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टलाई निर्देशन दिए ।

ताजा खबर