एउटा कथा लम्पसार छ आइसियूमा 

  काठमाडौं । पाटन अस्पतालको आइसियूमा यतिबेला मानौं एउटा कथालाई भर्ना गरिएको छ । हेर्दाहेर्दै त्यो कथाले गजलको रुप लिन्छ । गजल एकाएक निबन्ध भईदिन्छ । अनि त्यो निबन्ध अनायास गीत बनेर गुन्जिदिन्छ । आइसियूमा एउटा साहित्यमुर्ती लम्पसार छ यतिबेला ।

हो,मस्तिक शिरोघात (स्ट्रोक)बाट गम्भीर रुपमा थलिएपछि कथाकार मनु ब्राजाकीलाई यतिबेला पाटन अस्पतालको सघन उपचार कक्ष (आइसियू)मा राखिएको छ । दुईपटकसम्म मष्तिष्कको शल्यक्रिया गराईसकेका ब्राजाकीलाई यसपाली शिरोघातका साथै निमोनियाँले पनि   च्याप्यो । त्यसमाथि रक्तचाप र मधुमेहको समस्या त पहिलेदेखि नै थियो । अनि त गजल लेख्ने उनका हातहरु सुस्ताए । कविता फुर्ने उनको मष्तिक सेलायो । यतिबेला आइसियूमा उनी मृत्युसँग संघर्ष गरिरहेका छन् ।

‘गरिमा’ र ‘मधुपर्क’मा मनु ब्राजाकीको कुनै कथा प्रकाशित भयो भने पाठक सबैभन्दा पहिला उनकै कथा पढ्थे । नेपाली कथालाई विश्वस्तरकै उचाईमा पु¥याउन सफल मनुको खास नाम चेतमान सिंह भण्डारी हो । उनका साहित्यिक नामहरुमा ‘सगर नासरत्य’ र ‘हेमन्त हरि’ चर्चित छन् । जीवनको उत्तरार्धमा छोरी ज्वाईसँगै अमेरीका बसेका मनु अमेरीकी जनजीवन बुझ्न नपाउँदै विस्तारै विरामी हुँदैगए । नत्र भने उनले अमेरीका लगायतका बिकसित मुलुकको जीवनकाबारेमा पनि कथा  लेख्थे होलान् । ती देशहरुलाई हेर्ने उनको चेतना कस्तो थियो त्यो दुर्लभ हुने थियो ।

काबिल कथाकार 

बि.सं. १९९९ साउन १९ गते महोत्तरी जिल्लाको औरहीमा जन्मिएका मनुले सत्र अठार वर्षको उमेरदेखि नै लेख्न थालेका हुन् । मिथिला नगरी जनकपुरमा बाल्यकाल बिताएका मनु सानोमा हजुरबुबासँगै बनारस पुगेका थिए । बनारसमा केही समय बिताएका मनुले जीवनका धेरै आयामहरु देखे । केही समयपछि बनारसबाट फर्केर गाउँमै खेतिकिसानीका साथै साहित्य सिर्जनामा लागेका मनुले ग्रामिण परिवेशलाई कथामा उतार्न थालेका थिए । २०१७ सालतिर उनी पोखरामा पढ्थे । संयोग कस्तो भने पोखरामा चर्चित कार्टुनिस्ट दुर्गा बराल (बात्सयायान) मनुका सहपाठी   थिए । मनु र दुर्गाको प्रतिभा एउटै थियो । दुबै चित्र पनि कोर्थे र साहित्यमा पनि रमाउँथे ।

कालान्तरमा मनु साहित्यकार भए, दुर्गा चित्रकार ।

 उनको पहिलो रचनास्वरुप बि.सं. २०१९ मा ‘अञ्चल सन्देश’मा एउटा कथा प्रकाशित भएको थियो । अन्ततः कथा लेख्दै जाँदा नेपाली कथा विधामा मनु ब्राजाकी भारी तौल भएको व्यक्तित्व बन्न पुगे । कथा चेतनामा उनको उचाईमा पुग्ने कमै होलान् ।

 २०३८ सालमा प्रकाशित उनको पहिलो कथा संग्रह ‘अवमूल्यन’को उच्च मूल्यांकन भयो । त्यसबाट उनको ख्याती चुलीँदै गयो । गरिमा, मधुपर्क आदिमा उनका कथा पढ्न पाठक लालायित हुन्थे । २०४६ सालमा उनको कथा संग्रह ‘तिम्री स्वास्नी र म’ले तहल्का नै पिट्यो । त्यसपछि २०५२ सालमा ‘आकाशको फल’  र ‘भविश्य यात्रा’ प्रकाशित भए । २०६० सालमा कथा संग्रह ‘पारदर्शी मान्छे’ र २०७० सालमा ‘मनु ब्राजाकीका लघु कथा’ र ‘अन्नपूर्णको भोज’ प्रकाशित भए । यी कृतिहरुले नेपाली कथा विधामा ब्राजाकीको वर्चस्व कायम ग¥यो । ‘अन्नपूर्णको भोज’ कथा संग्रहले २०७० सालमा पद्यमश्री साधना सम्मान पुरस्कार प्राप्त गरेको थियो ।

गजब गजलकार 

मष्तिष्क शिरोघातको समस्या देखिएपछि ब्राजाकीका हात गोडा चल्न छाडे । दुईदुई पटक स्ट्रोक भएपछि शारीरिक शिथिलताका कारण लामा कथाहरु लेख्ने क्रम टुट्दै गयो । तर उनी सेलाएनन् । उनी गजल लेखनमा रमाउन थाले । खासमा मष्तिष्क कमजोर भएकाले स्मरणशक्ति कमजोर भयो । अनि लामा कथा लेख्न स्मरणशक्ति तिक्ष्ण हुनुपर्छ । पात्रहरुको चरीत्र र कथानक सम्झिरहनुपर्ने हुन्छ । शरीरले त्यसमै साथ नदिएका उनी छोटा पंक्तिमै धेरै कुरा भन्न सकिने गजल विधामा लागेका थिए । समसामयिक परिवेशमा उनले लेख्न थाले :

‘नयाँ नेपाल जाने थोत्रो बस छुटेछ
    भ्रष्टाचारले मगन्तेको पैसो लुटेछ । 
    पूरा खान ‘प्रभु’लाई भोग लगायो
    थोते बूढी आमालाई मकै भुटेछ । 
    ऐना हेर्न डराउँछन् आज नेपाली
    हिमालको भित्ते ऐना पनि फुटेछ । 
    छोरी कुटी बुहारीलाई तर्साउनेले
    आमालाई कुट्नुसम्म आज कुटेछ । 
    लुट्या देश आपस्तमा भागबण्डा भो
    अनि पो त दलहरू आज जुटेछ । 
    यो देशको बालीनाली कस्तो हुने हो ?
    पानी पर्नुसट्टा असिनाले चुटेछ ।’ 

मनुका ‘काँडाका फूलहरू’ (गजलहरू, बि.सं. २०५६) र ‘गजल गङ्गा’ (गजलहरू, वि.सं. २०५१) प्रकाशित छन् । गजलजस्तै कहाँ हुन्छ र जीवन ? जीवनको छन्द पनि सँधै कहाँ मिल्छ र ? त्यही भएर त उनले लेखे :

 ‘फुलेपछि झरिजान्छ भन्छन् पारिजात सधैं ।
    जीवनभरि रहँदैन कसैको नि साथ सधैं ।
    दिनदिनै डढाउने तातो घाम सहे पनि
    सहन पो सकिँदैन जुनेली यो रात सधैं ।
    जिन्दगीको सिङ्गो रुख जति चोटि फुले पनि 
    झरेजस्तै फूलहरू झर्छ कहाँ पात सधैं ।
    मनुलाई चिनाउने यौटा सानो मन रैछ
    कुरा काट्न काम लाग्छ मदिराको मात सधैं ।’

   

     

ताजा खबर