इलोन मस्कद्वारा आफ्ना भूउपग्रहले अन्तरिक्ष ओगटेको आरोप अस्वीकार

२०७८ पौष १९ सोमबार ०९:२१:०० मा प्रकाशित

इलोन मस्कले उनको स्टारलिङ्क इन्टरनेट परियोजनाका भूउपग्रहले अन्तरिक्षमा धेरै ठाउँ ओगटेको दाबीलाई अस्वीकार गरेका छन् । उनले फाइनान्सियल टाइम्सलाई पृथ्वी नजिकको कक्षमा दशौँ अर्ब भूउपग्रहहरू अटाउन सक्ने बताएका छन् । युरोपेली अन्तरिक्ष एजेन्सी ईएसएका प्रमुखले उदीयमान व्यावसायिक अन्तरिक्ष उद्योगको लागि मस्कले नियम बनाइरहेको आरोप लगाएपछि उनको यस्तो प्रतिक्रिया आएको हो ।

गत साता चीनले मस्कको भूउपग्रहसँग टक्करबाट बच्न आफ्नो अन्तरिक्ष स्टेसनलाई मार्ग परिवर्तन गर्नुपरेको दाबी गर्दै अन्तर्राष्ट्रिय एजेन्सीमा गुनासो गरेको थियो । मस्कले भने अन्तरिक्ष एकदमै विशाल रहेको र त्यहाँ भूउपग्रहहरू धेरै साना रहेका बताए ।

स्टारलिङ्क इन्टरनेट सेवा परियोजनाले भूउपग्रह उद्योगमा प्रतिस्पर्धीहरूको प्रवेशमा बाधा पुर्याइरहेको आरोपलाई अस्वीकार गर्दै मस्कले भूउपग्रहहरूको लागि पृथ्वीको कक्षमा पर्याप्त ठाउँ रहेको बताए । गत महिना ईएसएका निर्देशक जोसेफ एचवाकरले स्टारलिङ्कले प्रक्षेपण गरेका एक हजारभन्दा बढी भूउपग्रहहरूले अरू प्रतिस्पर्धीलाई कम ठाउँ उपलब्ध हुने बताएका थिए ।

अरू विज्ञहरूले पनि मस्कको तर्कमा असहमति जनाउँदै अन्तरिक्ष यानहरूले एक अर्काबीच दूरी कायम राख्नुपर्ने बाध्यता आइसकेको बताएका छन् ।

वैज्ञानिकहरूले यसअघि पनि अन्तरिक्षमा भूउपग्रहहरूबीच टक्करहरूको जोखिमबारे चिन्ता व्यक्त गर्दै पृथ्वीको परिक्रमा गरिरहेका अनुमानित ३० हजार भूउपग्रह र अन्य भग्नावशेषहरूको बारेमा जानकारी साटासाट गर्न विश्वभरका सरकारहरूलाई आह्वान गरेका छन् । मस्कको स्पेसएक्सले करिब १९ सय भूउपग्रहहरू प्रक्षेपण गरिसकेको छ भने अझै हजारौँ भूउपग्रहहरू छोड्ने योजना बनाएको छ ।

ताजा खबर