ग्लोबलआइएमई बैंक १६औँ वर्षमा प्रवेश

२०७८ पौष १९ सोमबार ००:२७:०० मा प्रकाशित

काठमाडौँ  । ग्लोबल आइएमई बैंक स्थापनाको १६ औं वर्षमा प्रवेश गरेको छ । स्थापनाको १५ औं वर्ष पार गर्दासम्म एक वाणिज्य बैंकसहित १८ वटा बैंक तथा वित्तीय संस्था ग्लोबल आईएमईमा विलय भएका छन् । तत्कालीन जनता बैंकसहित १८ वटा बैंक तथा वित्तीय संस्था मिलेर बनेको ग्लोबल आईएमई बैंकले धेरै वित्तीय सूचकमा आफूलाई अब्बल बनाएको छ । 

वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष चन्द्रप्रसाद ढकालले ग्लोबल बैंकले उत्कृष्ट बैंकिङ्ग सबैका लागि भन्ने नाराका साथ स्थापनाको १५ वर्षमा १८ वटा बैंक तथा वित्तीय संस्थाहरु मर्ज तथा एक्विजिसनमार्फत अधिकांश सूचकमा अब्बल बनाउन सफल रहेको बताए । उक्त अवसरमा बैंकले १५ वर्षदेखि बैंकमा निरन्तर सेवारत ४९ कर्मचारीलाई सम्मान गरेको छ ।

काठमाडौंको एभेष्ट होटेलमा आइतबार आयोजित विशेष कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकका अध्यक्ष ढकाललाई १५ वर्षे कोशेढुङ्गा पार गरेकोमा सम्मान प्रदान गरे । यसका साथै अध्यक्ष ढकालले बैंकमा १५ वर्षदेखि निरन्तर सेवारत कर्मचारीहरुलाई सम्मान गरे ।

प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य बैंकलेसेवालाई ग्राहकमैत्री बनाउँदै अहिलेको डिजिटल युगमा समयसापेक्ष सेवा दिनेगरी आफ्नो लक्ष्य निर्धारण गरेर बैंक अगाडि बढेको बताए । हाल बैंकको ३३.७५ अर्ब रुपैयाँ शेयरधनी कोष, २७४ अर्ब रुपैयाँ निक्षेप संकलन र २६९ अर्ब रुपैयाँ कर्जा लगानी रहेको छ ।


त्यस्तै, बैंकले ७६ जिल्लामा रहेका २८७ शाखा, २६३ शाखा रहित बैंकिङ्ग सेवा, २५२ एटीएम, ४८ एक्स्टेन्सन काउन्टर र तीनवटा वैदेशिक सम्पर्क कार्यालय मार्फतसेवा प्रदान गर्दै आएको छ । बैंकमा ३,२०० भन्दा बढी कर्मचारी तथा २७ लाख भन्दा बढी ग्राहक आबद्ध छन् ।

वार्षिकोत्सवका अवसरमा बैंकले सातवटै प्रदेशमा सप्ताहव्यापी विभिन्न कार्यक्रमहरुको आयोजना गरेको थियो । यस क्रममा बैंकले नि:शुल्क स्वास्थ्य शिविरहरु, रक्तदान कार्यक्रम, छात्रवृत्ति वितरण तथा बैंकको अन्तर विभागीय खेलकुद प्रतियोगिताको आयोजना भएको थियो । ग्लोबल बैंक २०६३ साल पुस १८ गते क्षेत्रीयस्तरको वाणिज्य बैंकको रुपमा स्थापना भएको थियो ।

ताजा खबर