हाहामा उडाउने विज्ञान विश्वले नेपालबाट सिकोस् !

२०७४ पौष ८ शनिबार ०९:०३:०० मा प्रकाशित

भैरव अर्यालसँग विचित्रको क्षमता थियो। उट्पट्याङ गरेर,अनुहार बिगारेर, अरुको नक्कल गरेर, समूहमा रहँदा कमजोरलाई गिज्याएर, अरुलाई होच्याएर त हँसाउन सजिलो छ। हामी सबैले अवश्य पनि कसै न कसैलाई यी तरीकाबाट कहिलेकाहीँ हँसाएकै छौँ। तर अक्षरबाट हँसाउन बडो मुश्किल छ। अक्षरबाटै विम्व र अवधारणा उत्पन्न गर्नुपर्ने र अझ हँसाउनुपर्ने! भैरव अर्यालसँग यो क्षमता थियो। उनी अक्षरबाटै ती सबै प्रकृया पुर्याएर अक्षरबाटै मात्र खित्का छाडेर हँसाउन सक्दथे। तर त्यसँगसँगै उनी गहिरा भन्दा गहिरा कुरालाई पनि छुन सक्दथे। उदाहरणको लागि,सन् १९६९ मा उनले लेखे,‘ हावामा उडाउने प्रतियोगिता अमेरिका र रुसले गर्दै रहून्। हाहामा उडाउने विज्ञानको लागि विश्वले नेपालबाट धेरै कुरा सिक्न बाँकी नै छ।’

यो एउटै हरफले कति मजाले हामी नेपालीको मानसिकताको चित्रण गरिदिएको छ। सबैकुरा बताईदिएको छ। विश्व चलिरहेको रफ्तार र हामी नेपाली चल्ने रफ्तारविचको भिन्नताको पनि चित्रण गरिदिएको छ।  थप, यसले हँसाउन सकेको छ । तर हाँसोको यो कुरालाई यतिमै रोकौँ! हाम्रो यो हाहाको बानीले एउटा गम्भीर समस्या पो उत्पन्न गराउला जस्तो छ!

त्यो लेख लेखिएको अवस्था र आजकोवीचमा लगभग ५० वर्ष बितिसकेको छ। हावामा उड्ने प्रकृयाले उत्कर्षसम्मको यात्रा तय गर्न थालिसकेको छ। अमेरिका, रुस लगायत कतिपय मुलुकले हावामा जहाज, रकेट, ध्वनि, सूचना उडाइसकेका छन्। नउडाउने मुलुक पनि त थुप्रै छन् नि भनी तर्क दिनेहरुले यो भन्दा अगाडी नपढ्दा हुन्छ। त्यसको विरुद्धमा भन्नु केहि छैन। यदि त्यस कुराले छटपटी पैदा गर्छ भने अन्य मुलुकले हावामा प्रगती गरिरहँदा हामी नेपालीको यथार्थ भने जहाँको त्यहिँ छ। हामी अझै पनि हाहामै  सीमित छौँ।

हामी कि त एक अर्कालाई हाहामा उडाउन मै खुशी छौँ या त एकअर्काको खुट्टा तान्नमा या त एकअर्कालाई दोष दिनमा! र यो सबैवीच संसार अर्कै भइसकेको छ। संसारलाई अनेकौँ कुरामा सरोकार हुन थालिसकेको छ र कैयौँ कुरामा संसार एकजुट हुन थालिसकेको छ। तर ती कुनै पनि कुरामा हामी नेपालीलाई भने सरोकार भए झैँ देखिदैन जसले एउटा अचम्मको दुर्लभता पैदा गरिदिएको छ। सिंगो विश्वलाई नै सरोकार हुने विषयमा सफलता प्राप्ति गरेका मानिसहरु मध्ये हामी नेपालीको दुर्लभता! 

आज मनुष्य मुख्यत-उद्यम, खेलकुद, संगीत, सिनेमा, साहित्य,कम्प्युटर सफ्टवेयर, प्राविधिक उपकरण, मोटरकार, विज्ञान, दर्शन,पूर्वाधार,        आ-आफ्ना राष्ट्रको विकाससँग सरोकार राख्छ। विश्वमा रहेका राष्ट्रका मानिसहरु यी कुराहरु एकअर्कासँग साट्दैछन्। प्रतिस्पर्धा गर्दैछन्। यी कुरामा आफ्नो राष्ट्रले पुर्याएको योगदानमा आफैँ र राष्ट्रप्रति गर्व गर्दैछन्। राष्ट्रभित्रकाले एकअर्कालाई समर्थन गर्दैछन्, सहयोग गर्दैछन्। एक विधाले अर्कोलाई,अर्को विधाले अर्कोलाई एकअर्कालाई। यस्तोमा एकअर्कालाई साथदिनेहरु एकजुट भएका पाइन्छ।

जसको नतिजा अनुरुप,त्यस्ता राष्ट्रले नै आफ्नो शीर विश्वमा उचालेको पाइन्छ र ती राष्ट्रका नागरिकले आ-आफ्नो। दोस्तोवेस्की भन्थे ,“सबैभन्दा ठूलो कमजोरी भनेको आफैँलाई ढाँट्ने बानी हो।” यदि कमजोर हुन छाडी स्वीकार्ने हो भने विश्वमा माथि उल्लेखित कुनै पनि विधाका प्रगतिमा हामी नेपालीको खासै योगदान छैन। छ भने पनि केवल दर्शकको रुपमा। श्रोताको रुपमा। प्रयोगकर्ताको रुपमा मात्र।

हामी सबै नेपाली आफैँलाई चतुर सम्झन्छौँ। पैसाको मामिलामा खुब बाठा हुन्छौँ। झुक्याउन, बेच्न, ठग्न हामी माहिर छौँ । तर संसारमा उच्च राजस्व निकाल्ने कुन चाहीँ वस्तु हामी नेपालीले बनायौँ त?

हामी सबै नेपाली आत्मविश्वासका खानी छौँ,होनहार खेलाडी छौँ। अगाडी बढिरहेको कसैलाई रोक्न रातभर नसुती रणनीति बनाउँछौँ। तर कुन खेलको चाहीँ सर्वोत्कृष्ट टीम या खेलाडी हामी नेपाली बन्न सक्यौँ त?

हामी सबै गुनगुनाउँछौँ, आफ्नो काम लिन मान्छेसँग वेथोवेनको ओड टु जोय भन्दा मीठो धुनमा बोल्छौँ। तर विश्वमा सर्वाधिक गुञ्जिने कुन चाहीँ धुन हामी नेपालीले रचना गर्न सक्यौँ त?

हामी सबै नेपाली राम्रा कलाकार छौँ। धोका दिएर पनि पीडितको सामू छाती फुलाई उभिएर उसको आँखामै हेर्न सक्छौँ। झुठ लुकाउन माहिर छौँ। तर हाम्रो कुन चाहीँ अभिनेता र अभिनेत्रीलाई संसारका अन्य २०० आदि मुलुककाहरुले रुचाएका छन् त? हामी अरुलाई निर्देशन दिन्छौँ,तरीका बताउँछौँ तर खोई हामी मध्येका कसैले पनि विश्वस्तरीय सिनेमा बनाउन सकेका?

हामी मपाईँको लागि अमूर्त भन्दा अमूर्त कहानी रच्न सक्छौँ। तर खोई त हाम्रो कुनै पनि साहित्यले नोवेलको सम्मान पाएको?

हामी एकअर्कालाई खुब राम्रोसँग काम अराउँछौँ। तर खोई हामीले आफैँले बनाएको मेसिनलाई अराउन सकेका,उडाउन सकेका। हामी भारतीय बाइक,जापानी मोटर खुब आवाज निकालेर धुलो उडाउँदैँ गुडाउन सक्छौँ। तर खोई त हामीले धुलो नउड्ने मुलुकमा हाम्रा उत्पादित पांग्रा गुडाउन सकेका ?

हामी सबैकुरा थाहा पाउन खोज्छौँ। कुराकानीमा पटक्कै झुक्दैनौँ। आफैँलाई खूब विद्वान सम्झन्छौँ। आफ्नो कुरा र अनुभवलाई दिव्य वाणी भन्ठान्छौँ। तर खोई त विज्ञानका कुनै पनि संसारलाई चकित पार्ने सिध्दान्तले हामी माझ जन्म लिएको?

हामी खूब दर्शन छाँट्छौँ। तर खोई हामीबाट निस्केका सत्य, दृष्टिकोण र दर्शनले विश्वका अन्य मानिसलाई टोलाउने बनाउन सकेको? हामी कल्पनामा महल बनाउँछौँ। नीतिको नाममा‘५ वर्षमै स्वीटजरल्याण्ड’ भनिदिन्छौँ। तर खोई एउटा सद्दे सडक बनाउन सकेका? हामी एकअर्काबाट सक्दो फाइदा लिने मामिलामा माहिर छौँ। तर खोइ त हामीले विदेशीहरुबाट राष्ट्रिय फाइदा लिन सकेका? हामी देशको नाममा फेसबुकमा आक्रोश पोख्छौँ। देशैकोबारे घण्टौ कुरा गरेर ४—५ कप चिया सिध्याउँछौँ। तर खोई त हामीले साँच्चै देशको जिम्मेवारी लिएका। देशको लागि मात्र भएपनि एकअर्कासँग मिलेका? 

यी सबै प्रश्नोत्तर सकिए पश्चात एउटा अर्को प्रश्न स्वतः उब्जन्छ - किन यस्तो भयो त ?  उत्तर सहज छ-यो लेखमा माथि जे भनियो,त्यसैको कारणले! अर्थात् एकअर्कालाई सम्मान नगर्ने कारणले। अरुको प्रयत्न,साहसलाई हाहामा उडाउने कारणले। एकअर्कालाई दोष दिने कारणले।
हामी सबै विचित्रका छौँ। भैरव अर्याल जस्तो सकारात्मक रुपमा हैन नि फेरि! 

हेरौँ हाम्रो राष्ट्रमा हामीवीच के भईरहेछ -

घरमा बा—आमाले छोराछोरीलाई दोष दिइरहेछन्।
छोराछोरीले बा—आमा र समाजलाई। 
समाजले नेतालाई नेताले एकअर्कालाई। 
एकअर्काले एकअर्कैलाई! 
सोच्नेले गर्नेलाई,गर्नेले बोल्नेलाई। 
बोल्नेले हेराईलाई,हेराईले अरुलाई! 
आममानिसले ठेकेदारलाई,ठेकेदारले सचिवलाई।
सचिवले माथिकालाई,माथिकाले हुँदै नभएका झन् माथिकालाई! 
गरीबले बुद्धिजिवीलाई,बुद्धिजिवीले जनचेतनालाई।
खेलाडीले प्रणालीलाई,प्रणालीले सरकारलाई।
सरकारले राजनीतिलाई,राजनीतिले परिस्थितिलाई।
परिस्थितिले हामी नेपालीलाई। नेपाललाई र भू—राजनीतिलाई! 
अब,यो सबैवीच खास दोषी चाहीँ को हो त? यथार्थको फैसला के छ त? 
यथार्थले हामी सबैलाई दोषी देखिरहेछ!

 सत्य यिनै हुन्। मनुष्यलाई सरोकार हुने कुनै पनि विधामा हामी नेपालीको नाम नफर्फराउँनुमा हामी सबै दोषी छौँ। हाम्रो हाहा दोषी छ। हाम्रो ईष्र्यालु चरित्र दोषी छ। एकअर्कासँग मिलेर ठूलोको निम्ति केहि सानो वलिदान दिन नसक्ने बानी दोषी छ। एकअर्काको समर्थन गर्न नसक्ने हाम्रो प्रवृति दोषी छ। र भनिन्छ,“अरुमा दोष देख्नुले शिक्षाको अभाव प्रस्टाउँछ। जब आफैँमा दोष देख्न थालिन्छ,तब शिक्षाको प्रारम्भ हुन्छ।” 

 यथार्थ : हामीलाई हाहामा,अरुको हारमा,दोषमा नै आनन्द आउँछ। जीवनको सार बोध हुन्छ। हामी अरुको दोष,परिस्थिति देखेर,सुनाएर, हाहा गर्दै उडाएर अरुलाई र आफैँलाई हँसाउन त सफल भयौँ तर हामीले संसारलाई हँसाउन सकेनौँ। सक्यौँ भने पनि खिसीको रुपमा! हामीले एकअर्काको महत्व बुझ्न सकेनौँ। एकअर्कालाई अघि बढ्न सघाएनौँ,सम्मान दिएनौँ। यथार्थको गहिरो चित्रण गरी हँसाउने प्रयत्न गरी सफल भएका हाम्रा भैरव अर्याललाई विश्व साहित्यमा ट्वेन,स्विफ्ट र रोल्ड डाहलको श्रेणीमा पुर्याउन सकेनौँ। त्यो जिम्मेवारी हाम्रो थिएन र? खोई त हामीले देवकोटालाई गोईथ,सेक्सपियर,कालिदासको श्रेणीमा राखेको र पुर्याएको,पौडेललाई टेगोरको,टल्स्टोएको,समलाई केमुको,सार्टको..गंगालाल,धर्मभक्त,दशरथचन्द र शुक्रराजलाई भगत सिंहको,भीमसेन थापालाई सुवासचन्द्रको,पृथ्वीनारायणलाई विस्मार्ख,ग्यारीबेल्डी,एलेक्जान्दरको,विपी,पुस्पलाललाई लेनीन,माओको!

यी मलाई केहि भएपनि जानकारी भएका विधा भए। अन्य विधामा पनि विश्वविजेता महापुरुष होलान् जो दोषको बालुवामा पुरिएर,समर्थन र सम्मान नपाएर विश्वमा बल्न र बालिनबाट बञ्चित भइरहेका छन्। तिनलाई मुक्त गरिदिने जिम्मा कसको? आफैँ केहि गर्न सकिएन भने राष्ट्रको लागि भएपनि यति त गरौँ !

राष्ट्र,साथ समर्थन,सम्मानको महत्व बुझ्न,शक्ति बोध गर्न,जादु बोध गर्न एकपल्ट सोसल कन्ट्याक्ट पढौँ। या त क्रिकेटको महाशक्ति अस्ट्रेलियाका खेलाडीहरुको खेल्नु पछाडीको प्रेरणा महसुस गरौँ। या त आफ्नो राष्ट्रपतिलाई अगाडी देख्दा रुसीहरुको हाउभाउ विचार गरौँ। यदि ती सबैकुराले पनि हामी नेपालीलाई तत्कालै एकअर्कालाई सम्मान,समर्थन,एकअर्काको पहिचान स्थापित गर्न गराउन  प्रेरित,उत्साहित र प्रोत्साहित गरेनन् भने हाहामा उडाउन छोडाएन भने,हामी नेपाली विश्वबाट लोप हुने बेर छैन,याद राखौँ! किनकी आफू र राष्ट्रलाई निरन्तरता दिने जमीनको टुक्राले होइन, बलियो पहिचानले हो । 
      (तस्बिरको स्रोत प्राप्त हुननसकाले यत्तिकै साभार गरेका छौं)

ताजा खबर