आईफोनको भारतीय कारखाना एपलको निगरानीमा

२०७८ पौष १८ आइतबार १०:५८:०० मा प्रकाशित

अस्वस्थ खानेकुराका कारण कामदारहरू बिरामी भएपछि सुरु भएको विरोधका कारण अमेरिकी एपल कम्पनीले भारतमा आईफोन निर्माण गर्ने एउटा कारखानालाई निगरानीमा राखेको छ ।

एपलले गरेको परीक्षणमा कामदारहरूले खाना खाने र बस्ने कोठाहरूमा मापदण्ड अनुसारको नभएको पाइएपछि दक्षिण भारतको तामिलनाडुमा रहेको कारखाना निगरानीमा परेको हो । फक्सकन कारखानामा काम गर्ने करिब २५० जना महिला कामदारहरू अस्वस्थ खानेकुराका कारण बिरामी परेका थिए । जसमध्ये १५० जनालाई अस्पताल पुर्याइएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

घटनाप्रति क्षमायाचना गर्दै फक्सकनले यसबारे अनुसन्धान भइरहेको जनाएको छ । कामदारहरूबाट विरोध बढ्दै गएपछि यो कारखाना डिसेम्बर १८ बाट बन्द छ । एपलले निगरानीमा राख्ने भनेको के हो भन्ने नखुलाए पनि विगतमा उसले निगरानीमा रहेको समस्याको समाधान नहुँदासम्म त्यस्तो कम्पनीलाई थप नयाँ काम नदिने हो ।

एपलका प्रवक्ताले भनेका छन्, ‘फक्सकन श्रीपेरूम्बुदुरमा खाद्य सुरक्षा र आवासको अवस्थाबारे चासो बढेपछि हामीले स्वतन्त्र परीक्षकहरू खटाएका छौँ।’ चेन्नईबाट ४० किलोमिटरको दूरीमा रहेको आईफोन कारखानाले १७ हजार मानिसहरूलाई रोजगारी प्रदान गरिरहेको छ । गत वर्ष बैङ्लोर नजिकैको अर्को एउटा कारखानामा कामदारहरूले ज्याला नपाएको विषयमा दङ्गा भड्किएपछि त्यो साझेदारलाई पनि एपलले निगरानीमा राखेको थियो।

ताजा खबर