कोभिड र खराब मौसमका कारण अमेरिकामा मात्रै एकैदिन २५०० भन्दा धेरै उडान रद्द

२०७८ पौष १८ आइतबार १०:१५:०० मा प्रकाशित

कोरोनाभाइरस र खराब मौसमका कारण क्रिसमसको याममा अमेरिकामा हवाई उडान रद्द हुने क्रमले एउटा नयाँ उच्च बिन्दु छोएको छ । शनिवार विश्वभर झन्डै ४ हजार ४०० उडानहरू रद्द गरिएकामा २ हजार ५०० भन्दा धेरै अमेरिकामा रहेको एयर ट्राफिक साइट फ्लाइटअवेरले जनाएको छ । वायुसेवाका धेरै कर्मचारी कोभिड सङ्क्रमितको संसर्गमा आएर क्वारन्टीनमा बसिरहेका कारण समस्या झन् थपिएको हो ।

यात्रुहरूको त्यस्तो सङ्कटमा मध्य अमेरिकामा परेको हिमपातले अर्को सास्ती थपेको थियो । अमेरिकामा रद्द भएकामध्ये एक हजार भन्दा धेरै उडानहरू सिकागोको ओ’हेर र मिडवे विमानस्थलबाट हुने उडान थिए । युनाइटेड एयरलायन्सले रद्द गरिएका उडानहरु ओमिक्रोनले कर्मचारीमा पारेको असर मौसमसँग जोडिएको बताएको छ ।

आइतबार धेरैजसो मानिसहरू क्रिसमसको बिदा सकेर घर फर्कंने दिन थियो । डिसेम्बर २४ यता अमेरिकामा १२ हजार उडान रद्द भएका छन् । वायुसेवाहरूले कर्मचारी अभावसँग जुझ्नका लागि उनीहरूलाई अतिरिक्त पैसा दिने उपाय चालिरहेका छन् । तर श्रम सङ्गठनहरूले कर्मचारीहरूमा कोभिड सङ्क्रमण हुनसक्ने र क्रुद्ध यात्रुहरूसँग झेल्नुपर्ने त्रास रहेको बताएका छन् ।

ताजा खबर